फिल्म फेस्टिभलको उद्देश्य थाहाको पर्यटन विकास र फिल्म सिटी निर्माण हो : सानोबाबु मोक्तान [अन्तर्वार्ता]

सुस्मिता बजगाईं २७ पुष २०८१ १९:००
48
SHARES
फिल्म फेस्टिभलको उद्देश्य थाहाको पर्यटन विकास र फिल्म सिटी निर्माण हो : सानोबाबु मोक्तान [अन्तर्वार्ता]

मकवानपुरको उत्तरी भेगमा आइतबारदेखि ‘थाहा फिल्म फेस्टिभल’ हुँदैछ। ‘पर्यटनका लागि फिल्म फेस्टिभल’ भन्ने नाराका साथ थाहा कला केन्द्रले गत वर्षदेखि फेस्टिभल आयोजना गर्न थालेको हो। थाहा नगरपालिकाको बज्रबाराहीस्थित सुमार्गी भवनमा माघ १ गतेसम्म चल्ने फेस्टिभलको दोस्रो संस्करणबारे थाहा कला केन्द्रका अध्यक्ष सानोबाबु मोक्तानसँग गरिएको कुराकानी :

फेस्टिभलको दोस्रो संस्करणमा केकस्ता गतिविधि हुँदैछन्?

फेस्टिभल तयारीको अन्तिम चरणमा छौँ। पहिलो संस्करणको सफलतापछि यसपटक थप उत्साहित भएका छौँ। गत वर्ष हामीले फिल्म र दर्शकसँग छोटो अन्तरक्रिया मात्रै गरेका थियौँ।

यस वर्ष फेस्टिभलको उद्घाटन सत्रमै ‘थाहा नगरलाई मिनी फिल्म सिटी बनाउन सकिन्छ’ भनेर सेमिनार कार्यक्रम गर्दैछौँ। साथै निर्देशक सुलक्षण भारतीसँग छलफल सत्र हुनेछ। दोस्रो दिन फिल्म समीक्षा किन आवश्यक छ? भन्ने विषयमा समीक्षकसँग छलफल हुनेछ। फिचर, सर्ट र डकुमेन्ट्री गरी २० वटा फिल्म देखाउने तयारी छ। हाम्रो क्षेत्रमा फिल्म, म्युजिक भिडियो र टेलिफिल्म छायांकन गर्ने टिमलाई सम्मान पनि गर्नेछौँ।

गत वर्षको फेस्टिभलपछि यस क्षेत्रमा केही नयाँ काम हुन थालेका छन् त?

गत वर्ष हामीले फिल्म प्रदर्शन मात्रै गरेका थियौँ। साथै फिल्म लिएर आउने फिल्मकर्मीलाई दामन, फाँटबजार, सिमभञ्याङलगायत स्थानको भ्रमण गराएका थियौँ। फेस्टिभलको प्रभाव केही फिल्म निर्माता तथा निर्देशकहरूले हाम्रै सल्लाहमा म्युजिक भिडियो, फिल्म र टेलिफिल्म छायांकन गरिरहनुभएको छ। स्थानीय पनि खुसी छन्। फेस्टिभलपछि स्थानीय कलाकार मिलेर फिल्म बनाएका छन्। हाम्रो आयोजनाले थाहाको प्रचारलाई तीव्र बनाइरहेको छ भन्ने महसुस गराएको छ।

स्थानीय उत्साहित हुनाको कारण के होला?

बढ्दो सामाजिक सञ्जालको प्रयोगले अहिले चर्चामा रहेको सबै सूचनाहरूको मानिसले मूल्याङ्कन गरिरहेका हुन्छन्। मनोरञ्जन क्षेत्रले पनि निकै फड्को मारिसकेको छ। विश्वव्यापी प्रदर्शन भइरहेको र दर्शकले अत्यधक रुचाएर चर्चाका रहेका फिल्म जुनसुकै स्थानका मानिसले पनि हेर्ने चाहना देखाउँछन्।

अहिले मकवानपुरको उत्तरी भेगमा कुनै फिल्म हल छैन। पालुङमा पहिले शिखर चलचित्र मन्दिर थियो। पर्वविशेष, बिदाको दिन फिल्म प्रदर्शन हुँदा टनाटन दर्शक हुन्थे। हामी सानो हुँदा पनि त्यो हलमा फिल्म हेर्न जान्थ्यौँ। टिकट पाउन मुस्किल हुन्थ्यो। हल बन्द भयो। फिल्म हेर्न रुचि भएका दर्शक कि त हेटौँडा कि त काठमाडौँ धाउनुपर्छ। चाहना भएर पनि स्थानीयले फिल्म समयमा हेर्न पाएका छैनन्।

हलको जस्तो ध्वनि र सेवा सुविधा नभए पनि ठूलो पर्दामा फिल्म देखाएर यहाँका दर्शकलाई खुसी पार्ने र हलको तिर्सना मेटाउने वातावरण बनाउन पनि खोजेका हौँ।

फेस्टिभलबाट स्थानीय कलाकारलाई के फाइदा हुन्छ?

पहिलो संस्करणमा प्रदर्शन भएका फिल्म हेरेर यहाँका स्थानीय कलाकारमा सकारात्मक प्रभाव परेको छ। केही कलाकार मिलेर फिल्म पनि बनाएका छन्। त्यो फिल्म यस वर्षको फेस्टिभलको छनोटमा परेको छ।

स्थानीय कलाकारले पनि अहिले आफ्नै ठाउँलाई छायांकन स्थल बनाइरहेका छन्। गत वर्ष यहाँ विद्यार्थी केन्द्रित फिल्महरू देखाएका थियौँ। यसवर्ष केही शिक्षकहरूले विद्यार्थीकै मागबमोजिम फिल्म देखाउनुपर्छ भनेर अनुरोध गरिरहनुभएको छ। फेस्टिभलले नयाँ पुस्तालाई आकर्षित गरेको र उनीहरूमा राम्रो प्रभाव परिरहेको छ जस्तो लाग्छ।

थाहामै फेस्टिभल किन आवश्यक छ?

थाहा नगरपालिका रुदानेसँग सम्बन्धित छ। रुदाने अर्थात् रुपचन्द्र बिष्टको ‘थाहा’ अभियान। यो त्यही अभियानसँग जोडिएको नगरपालिका हो। यो क्षेत्रलाई मकवानपुरको उत्तरी भेगका नामले चिनिन्छ। चित्लाङ, कुलेखानी, मार्खु त पहिलेदेखि नै फिल्म छायांकनको केन्द्र थियो। त्यसबाहेक दामन, बज्रबाराही, कुञ्छाल, गोपाली गाउँ, सिमभञ्ज्याङ, आग्रालगायत ठाउँ पर्यटकीय दृष्टिले चर्चित छ। यहाँको स्थानीय संस्कार, संस्कृतिको पनि छुट्टै महत्त्व छ। त्यस्तै राजधानीबाट पनि नजिक छ।

रुपचन्द्र विष्टकै जीवनकथामा आधारित रहेर ‘रुदाने’ फिल्म पनि बन्दैछ। अग्रज पुस्तालाई त थाहा नै छ र अनुज पुस्तालाई ‘थाहा’ को पहिचानबारे फेस्टिभलले थप सन्देश दिन सक्छ।

अर्को कुरा, दसैँमा प्रदर्शन भएको चर्चित फिल्म ‘१२ गाउँ’ पनि थाहामै छायांकन भएको हो। फिल्ममा देखाइएको १२ गाउँ थाहामै पर्छ। यो कतिपयलाई थाहा नै छैन। त्यस्तै अहिलेको चर्चित टेलिफिल्म ‘गाह्रो छ हो’ को दोस्रो सिजनको पनि चित्लाङमै छायांकन भइरहेको छ। यो सँगै ‘नलेखिएको कथा’, ‘सुख, दुःख’ पूर्णिमा’ लगायत म्युजिक भिडियो यतै छायांकन भइरहेका छन्। यसले फिल्मको महत्त्वलाई पनि दर्शाउँछ। फेस्टिभलमा प्रदर्शन हुने फिल्म लिएर आउने फिल्मकर्मीले नगरको भ्रमण गर्दा स्थानीय संस्कार र संस्कृतिको विस्तार र पर्यटन क्षेत्रमा टेवा पुर्‍याउँछ।

मिनी फिल्मको आवश्यकताबारे पनि केही बताइदिनुस् न।

थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकालाई मिनी फिल्म सिटीका रूपमा विकास गर्न सकिन्छ भन्ने फेस्टिभलको मुख्य उद्देश्य हो। हाम्रो नारा ‘पर्यटनका लागि फिल्म फेस्टिभल’ भन्ने छ। अहिले विश्वका कतिपय ठाउँ फिल्म उद्योगले धानेको छ। भारतको दिल्लीमा फिल्मले अर्थतन्त्रमा राम्रो सघाउ पुर्‍याएको छ। सिक्किममा पनि फिल्म क्षेत्रलाई हेर्ने नजर नै अर्के छ। त्यहाँ फिल्म छायांकन गर्नेहरूलाई प्रोत्साहन स्वरुप अनुदानमा पैसा दिने गरिन्छ।

राजधानीबाट नजिक, पर्यटकीय स्थल र स्थानीय संस्कार र संस्कृतिले भरिपूर्ण क्षेत्र भएकोले पनि हामी यसको पहलमा लागिरहेका छौँ। निर्देशक र निर्माताहरू सधैँ फिल्म कथाअनुसारको सुहाउँदो वातावरण र छायांकन स्थल खोजीमै लागिरहेका हुन्छन्। हामीले पनि फेस्टिभलमा कलाकारलाई कम तथा निर्माता र निर्देशकलाई बढी जोड दिइरहेका हुन्छौँ।

बाहिरका मानिसले थाहा नगरको पर्यटकीय स्थल र अन्य सम्भावनाका क्षेत्रहरूमार्फत पर्यटन प्रवर्धन  र अर्थतन्त्रको विस्तार गर्नमा जोड दिन्छ भन्ने आत्मविश्वास छ। अर्को कुरा, यहाँका दर्शकलाई फिल्म देखाऊँ भन्ने पनि हो।

पूर्वाधारको विकास र बजेट पनि त आवश्यक पर्ला?

राजधानीबाट नजिक भए पनि बाटोहरू निकै जोखिमयुक्त छ। यसमा राजनीति भइरहेको छ। हामीले फेस्टिभलमार्फत पहल गरिरहेको तीन वर्ष भयो।

सर्वप्रथम मिनी फिल्म सिटी बनाउने आधारभूत कुराहरू के के हुन्? यस क्षेत्रका लागि उपयुक्त छ/छैन भन्ने विषयमा बहस हुन जरुरी छ। यसका लागि नेपाल सरकार र स्थानीय सरकारले पनि चासो दिनुपर्छ।

यसको अध्ययनका लागि नगरपालिकाबाट बजेट छुट्याउन थालिएको छ तर यस विषयमा बहस हुन नसकेपछि बजेटको उपयोग हुन सकेको छैन। पार्टीगत राजनीतिले यसलाई असर गरिरहेको छ भन्ने लाग्छ।

बजेट कार्यान्वयनका विषयमा हामी फिल्मकर्मी, स्थानीय र प्रदेश सरकारसँग छलफल गर्ने तयारीमा छौँ।

प्रकाशित: २७ पुष २०८१ १९:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast