महेन्द्रनगर– गृहमन्त्री रमेश लेखकले समाजमा लागुऔषध सेवन ,आत्महत्या र सडक दुर्घटना चुनौतीपूर्ण रहेको बताएका छन्।
शुक्रवार महेन्द्रनगरमा एन प्याबसन कञ्चनपुरले आयोजना गरेको खेल महोत्सवलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले अहिले मुख्य चुनौतीका रुपमा लागुऔषध सेवन,आत्महत्या र सडक दुर्घटना रहेको बताएका हुन्।
उनले पछिल्लो समय लागुऔषधले भयावह स्थिति रहेको बताउँदै यसको न्युनीकरणका लागि विद्यालय स्तरबाट अभियान सञ्चालन गर्नुपर्ने बताए।
‘समाजमा लागुऔषध,आत्महत्या र सडक दुर्घटना मुख्य चुनौतीका रुपमा देखिएको छ,’ गृहमन्त्री लेखकले भने, ‘लागुऔषधबाट समाजको मुक्तिका लागि अभियान सञ्चालन गर्नुपर्ने छ यसका लागि एन प्याबसनले विद्यालयस्तरबाटै सुरुवता गरोस्।’
उनले लागुऔषधले घर घरका बालबालिकाहरु प्रभावित भइरहेकाले स्थानीय सरकार र निजीसंघ संस्था सबैले गम्भीर रुपमा लिएर लागुऔषधको विरुद्धमा अभियान सञ्चालन गर्नुपर्ने बताए।
त्यसैगरि उनले निजि तथा आवासीय विद्यालयहरुले शिक्षाको गुणस्तरीय वृद्धि गर्न महत्वपूर्ण भुमिका रहेको बताए। ‘सरकारले संविधानमा नै निःशुल्क शिक्षा र अनिवार्य शिक्षाको व्यवस्था गरेका छौँ,’ उनले भने, ‘त्यसकारण सामुदायिक विद्यालय राम्रो गुणस्तरकासाथ अघि बढ्न तीनै तहका सरकारले यसमा ध्यान दिनुपर्छ।’
उनले शिक्षाको क्षेत्रमा निजी र आवासीय विद्यालयको पनि महत्वपूर्ण भूमिका रहेको बताउँदै सार्वजनिक र सामुदायिक विद्यालयको गुणस्तर बढेको बताए।
‘सरकारले निजी विद्यालयलाई पनि राम्रोसँग सञ्चालन गर्ने कुरामा सरकार लाग्ने छ,’ उनले भने, ‘शिक्षाको गुणस्तरसँग सम्झौता गर्ने कुरा, चर्को शुल्क लिने कुरामा सरकारले नियमन गर्नुपर्छ।’
उनले अहिले संघीय संसदमा विद्यालयसम्बन्धी विधेयक छलफलमा रहेको बताए। ‘हामी शिक्षा विधेकयक पारित गरेर शिक्षाको क्षेत्रमा राम्रो कानुन निमार्ण गरेर शिक्षालाई अत्यन्त शुलभ, सरल र सबै नेपाली नागरिकको पहुँच हुनसक्ने तर्फ सरकार लाग्ने छ।’
त्यसैगरी उनले खेल महोत्वसले विद्यार्थीहरुको चौतर्फी विकासमा टेवा पुग्ने बताए।