गुल्मीमा यसवर्ष सुन्तला उत्पादन बढ्यो

हिमाल प्रेस २६ पुष २०८१ ११:३७
10
SHARES
गुल्मीमा यसवर्ष सुन्तला उत्पादन बढ्यो

गुल्मी- गुल्मीमा गत वर्षको तुलनामा यसवर्ष सुन्तला उत्पादनमा वृद्धि भएसँगै कृषकले मनग्य आम्दानी गरेका छन्।  जिल्लामा यस वर्ष २४ करोड ५० लाख मूल्य बराबरको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नरेश धितालले जानकारी दिए।

गत वर्ष २३ करोड मूल्य बराबरको सुन्तला उत्पादन भएको थियो। जिल्लामा उत्पादित सुन्तलामध्ये यसपटक १३ करोडभन्दा बढी सुन्तला जिल्ला बाहिर लगेर बिक्री गरिएको कार्यालय प्रमुख धितालले बताए।

गुल्मीबाट गत वर्ष १२ करोड बराबरको सुन्तला जिल्ला बाहिर बिक्री गरिएको थियो। मल उपलब्ध हुनु तथा सिँचाइको सुविधा, सुन्तलाको बोट काँटछाँट गर्नु र सुन्तलाको क्षेत्र विस्तार हुँदै गएका कारण उत्पादनमा वृद्धि भएको प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजना गुल्मीकी प्रमुख गंगा पोख्रेलले बताइन्।

जिल्लामा कृषकले सुन्तलाको बगैँचामा बिजु बिरुवा लगाउने गरेका छन्। कलमी बोटले भन्दा बिजु बिरुवाले लामो समयसम्म फल दिने भएका कारण कृषकले बिजु बिरुवा लगाउँदै आएका छन्। सुन्तलाका फेद र जरा कुहिने समस्याबाट पीडित बनेको धुर्कोट गाउँपालिका-२ का कृषक शिवलाल खनालले बताए। सुन्तला बगैँचामा समयमै मलखाद र सूक्ष्मतत्वको प्रयोगबाट उत्पादनमा वृद्धि हुने उनको भनाइ छ।

जिल्लाका १२ वटै पालिकामा व्यावसायिक रुपमा सुन्तलाखेती गरिँदै आएको छ। जिल्लाका ९३ वडामध्ये ३७ वडामा सुन्तला जात फलफूल जोन कार्यक्रम लागू छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत जिल्लाको मदाने गाउँपालिकाको पुर्कोटदह, धुर्कोट गाउँपालिकाको पिपलधारा र सत्यवतीको लिम्घालगायत ठाउँमा चक्लाबन्दी गरी सुन्तला खेती सुरु गरिएको छ।

गुल्मीको सुन्तलाको माग अत्यधिक छ। सुन्तला खरिद गर्नका लागि बुटवल, पाल्पा, अर्घाखाँचीलयागतका स्थानबाट व्यापारी बगैँचामै पुग्ने गरेका छन्। अहिले बजारमा गुल्मीको सुन्तला प्रतिकिलो ८० देखि एक सयसम्ममा बिक्री हुँदै आएको छ।

कृषि ज्ञान केन्द्रले सुन्तलाका विभिन्न जात पहिचान गरी तिनको व्यवसायीकरण गर्न सुरु गरेको छ। कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत सुन्तलाको उत्पादन वृद्धिका लागि बगैँचा व्यवस्थापनमा जोड दिएको छ।

सुन्तलाका लागि धुर्कोट गाउँपालिकाको नयाँगाउँ, पिपलधारा, छत्रकोटको लुम्छा, श्रृङ्गा, रेसुङ्गा नगरपालिकाको भाडगाँउ, रुरुक्षेत्रको मुसिडाँडा, चौतारा, मुसिकोट नगरपालिकाको अर्लाङ्कोट, गुल्मी दरबारको गौडाकोट, कालीगण्डकीको अर्बेनी, जयखानी चन्द्रकोटकोे रेमी, सत्यवती र मदानेको भनभने मुख्य पकेट क्षेत्रका रुपमा रहेका छन्।

प्रकाशित: २६ पुष २०८१ ११:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast