काठमाडौँ- नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले सातबुँदे सहमतिको अपमान गरेको टिप्पणी गरेका छन्।
पृथ्वी जयन्तीका सन्दर्भमा बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा केसीले प्रधानमन्त्री ओलीले ०८७ मा मात्रै संविधान संशोधन हुन्छ भन्नु सातबुँदे सहमतिकै अपमान भएको बताएका हुन्।
संविधान संशोधनका लागि अन्तिम निष्कर्ष जहिले निस्किए पनि त्यसको प्रारम्भ भने अहिलेदेखि नै गर्नुपर्ने उनले बताए। केसीले संविधान संशोधनका लागि संसद्भित्र रहेका दलमात्रै नभई सबैपक्षसँग सहकार्य गर्नुपर्नेमा जोड दिए।
दुईदलले मात्रै संविधान संशोधन गर्न नसक्ने भए सर्वदलीय संयन्त्र गठन गर्न उनले सुझाव दिए। एमाले अध्यक्ष ओलीले पार्टीको केन्द्रीय कमिटी बैठकमा ०८७ को माघमा मात्रै संविधान संशोधन हुने अभिव्यक्ति दिएका थिए।
यसअघि बुधबार झापामा आयोजित एक कार्यक्रममा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले समेत उक्त अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।