काठमाडौँ- प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादव र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालबीच चर्काचर्की परेको छ।
बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा निर्णय सुनाउने क्रममा आफ्नो असहमतिलाई सभापतिले बेवास्ता गरेको भन्दै सांसद सुवालले प्रश्न उठाएपछि सभापति यादव आक्रोशित भएका थिए। सो क्रममा दुवैबीच भनाभन भएको हो।
सांसद सुवालले आफ्नो असहमति राख्दा सभापति यादवले अमर्यादित ढंगले ‘नौटंकी’ गर्ने भन्दै सुवाललाई हप्काएका थिए। सुवालले समितिका सभापति निरंकुश ढंगले चल्न नहुने भनेपछि दुवैबीच चर्काचर्की परेको थियो। सभापतिले सुवाललाई औंला तल राख्नुस् भन्दै हकारेका थिए।
नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफलपछि निर्णय गर्ने क्रममा समितिमा उपस्थिति नभएका सांसदको संयोजकत्वमा उपसमिति बनाइएको भन्दै सांसद सुवालले असहमति जनाएका थिए। यसअघि, पनि माओवादी सांसद सुदन किराती, सांसद सुवाललगायतसँग पनि समितिमा सभापति यादवको भनाभन भएको थियो।