पोखरा- पोखरा उपत्यकाका तालहरूमा विभिन्न ५३ प्रजातिका जलपक्षी फेला परेका छन्। रामसार सूचीमा सूचीकृत यहाँको फेवा, बेगनास, रुपा लगायतका तालमा २ दिन लगाएर गरिएको पक्षी गणनामा ५३ प्रजाति फेला परेको पोखरा पक्षी समाजका अध्यक्ष एवम् क्षेत्रीय संयोजक मनशान्त घिमिरेले बताए।
टाइगर माउण्टेन पोखरा लज र पोखरा पक्षी समाज अगुवाइमा ४३ जना स्वयंसेवक गणक १२ टोलीमा विभाजित भई पक्षी गणना गरेका हुन्। सिमसार क्षेत्रमा आश्रित रैथाने र आगन्तुक चराको विवरण, तिनीहरूको अवस्था, संरक्षणमा स्थानीय समुदाय र सरोकारवाला सहभागी गराई सचेतना बढाउन सन् २००४ देखि पोखरा उपत्यकामा जलपक्षी गणना हुँदै आएको छ।
अध्यक्ष घिमिरेका अनुसार पोखरा उपत्यकाका फेवा, बेगनास, रूपा, मैदी, दिपाङ, गुंदे, खास्टे, न्यूरेनी ताल र कमल पोखरी तथा विजयपुर खोला करिडोरमा गणना गरिएको थियो। फेवातालमा मात्रै ५२ प्रजातिका २ हजार १२ जलपक्षी फेला परेका छन्।
त्यस्तै, बेगनासमा १४ प्रजातिका १ सय ५८, रुपामा २६ प्रजातिका ३ सय ६४, गुँदेमा १३ प्रजातिका ३ सय १, खास्टे र न्युुरेनी तालमा १६ प्रजातिका १ सय ८९, दिपाङमा १३ प्रजातिका २ सय १७, मैदीमा १० प्रजातिका १ सय २१, कमलपोखरीमा ५ प्रजातिका १४ र विजयपुर खोलामा १० प्रजातिका ४३ जलपक्षी गणना भएको हो।
फेवा र दिपांग तालमा चराहरूको संख्या बढेकामा रुपा र मैदीमा बराबर तथा अन्यमा घटेको पाइएको छ। पछिल्लो समयमा सिमसार क्षेत्र संकूचित हुँदै जानु, मानवीय गतिविधि बढ्नु, अवैध चोरी शिकार, ध्वनी प्रदूषण, वासस्थान विनास, सचेतनामा कमीका कारण अघिल्लो वर्षको तुलनामा धेरै घटेको चरा विज्ञ झलक चौधरीले बताए।
उनका अनुसार जलपक्षी गणनाबाट सिमसार क्षेत्रको अवस्था, जलपक्षीको प्रजनन् अवस्था र जलवायु परिवर्तनबाट पार्ने असरबारे जानकारी मिल्छ।