काठमाडौँ- आगामी माघ ११ मा प्रदर्शन हुने फिल्म ‘मिसिङः केटी हराएको सूचना’ को पुनः ट्रेलर सार्वजनिक भएको छ। ५ मिनेट १६ सेकेण्डको ट्रेलर फिल्मका मुख्य कलाकार नाजिर हुसेन र सृष्टि श्रेष्ठ वरपर घुमेको छ।
सामाजिक सञ्जालबाट भेटिएका नाजिर र सृष्टिकाे यात्रामा आउने उतारचढावलाई ट्रेलरमा देखाइएको छ। विशेषतः ट्रेलरले फिल्मले पहाडी/मधेशी समुदायकाे मेलमिलापको खोजी गरेको छ। फिल्ममा नाजिर रामको भूमिकामा र सृष्टि सीताको भूमिकामा छन्। ट्रेलरमा केही दिनअघि सार्वजनिक गरिएको नयाँ गीत ‘सपनीमा’का फुटेजलाई पनि स्थान दिइएको छ।
फिल्मका निर्देशक दीपेन्द्र गौचनले निर्देशन गरेका हुन्। फिल्ममा उनकै स्क्रिप्ट लेखन छ। नाजिर, सृष्टिसँगै फिल्ममा सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल, ओमप्रकाश कर्ण र अमितेष शाहको अभिनय छ। ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको फिल्म ट्राई सिटी पिक्चर्सकै ब्यानरमा बनेको छ।