अब विद्यार्थीले पाँचमध्ये तीन ऐच्छिक विषय रोज्न पाउने, घरायसी कामको मूल्यांकन हुने

हिमाल प्रेस २४ पुष २०८१ १६:१९
3.4k
SHARES
अब विद्यार्थीले पाँचमध्ये तीन ऐच्छिक विषय रोज्न पाउने, घरायसी कामको मूल्यांकन हुने

काठमाडौँ-  माध्यमिक तह (कक्षा ११-१२) मा विद्यार्थीले आफ्नो इच्छाअनुसार पाँचमध्ये कुनै तीन ऐच्छिक विषय रोज्न पाउने भएका छन्। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको अध्यक्षतामा पाठ्यक्रम विकास केन्द्रमा आज बसेको पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकले विद्यार्थीले आफूले चाहेको ऐच्छिक विषय रोज्न पाउने निर्णय गरेको हो।

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप – २०७६ अनुसार माध्यमिक तह कक्षा (११- १२) मा ऐच्छिक तेस्रो समूहमा रहेको १४ भाषाहरूमध्ये नेपालमा बोलिने भाषाहरूको छुट्टै समूह बनाउने र पाँच समूहमध्येबाट विद्यार्थीले कुनै तीन विषय लिन पाउने भएका छन्।

बैठकले निर्णय गरेअनुसार माध्यमिक तह कक्षा (११-१२ को ऐच्छिक दोस्रो समूहमा रहेको जनसंख्या अध्ययनलाई ऐच्छिक तेस्रो समूहमा र तेस्रो समूहमा रहेको Gerontology and Care Taking Education विषयलाई दोस्रो समूहमा राखिएको छ।

 विद्यार्थीको मूल्यांकनमा घरायसी तथा दैनिक जीवनमा गरेका कार्यहरू पनि समावेश हुने भएको छ।  बैठकले विद्यार्थीको घरायसी एवम् दैनिक जीवनका कार्यलाई आधारभूत तह कक्षा (६-८) तथा माध्यमिक तह कक्षा (९-१०) को आन्तरिक मूल्यांकनमा समावेश गर्न आवश्यक छलफल र तयारी गरी परिषद्मा पेस गर्न पाठ्यक्रम विकास केन्द्रलाई सैद्धान्तिक सहमति दिएको छ। बैठकले लिएका यी निर्णयहरूले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा टेवा पुग्ने र पाठ्यक्रमलाई समयसापेक्ष बनाउने अपेक्षा गरिएको छ।

यसबाट विद्यालय शिक्षाको पाठ्यक्रमलाई थप समसामयिक र विद्यार्थीमुखी बनाउने लक्ष्य राखिएको छ। बैठकले माध्यमिक तह (कक्षा ९-१०) को इतिहास र वातावरण विज्ञानको पाठ्यक्रममा प्राप्त सुझावहरूलाई समेटेर १५ दिन भित्र स्वीकृतिका लागि सिफारिस गर्न निर्देशन गरेको छ।

यी दुई विषयमा विज्ञहरूबाट प्राप्त सुझावहरू जस्तै: पाठ्यक्रममा विषयवस्तुलाई दैनिक जीवनसँग जोडी स्थानीय विषयसँग तादम्यता मिलाउने र विद्यार्थीको दृष्टिकोणबाट पाठ्यक्रम निर्माण गर्ने रहेका छन्। उनीहरूले युवालाई देशप्रति सकारात्मक भावना विकास गराउने र नेपालको सभ्यता कुन हो जस्ता दृष्टिकोणबाट इतिहास विषयको पाठ्यक्रम निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।

वातावरण विज्ञानको पाठ्यक्रममा नेपालको विविधताको संरक्षण, हिमाल पग्लने समस्या, चुरेको समस्या र जलवायु परिवर्तनले नेपालमा पारेको असरलाई विद्यार्थीले कसरी समाधान गर्न सक्छन् भन्ने विषयहरू पाठ्यक्रममा समावेश गरिनुपर्छ भन्ने सुझाव दिएका छन्।

बैठकबाट मातृभाषातर्फ आधारभूत तह (कक्षा ६-८) को चाम्लिङ भाषाको पाठ्यक्रम स्वीकृतिका लागि सिफारिस गरिएको छ।

बैठको निर्णयानुसार विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप – २०७६ मा रहेका ऐच्छिक विषयको समूह मिलान गरिएको छ। जसअनुसार माध्यमिक तह कक्षा (९-१०) मा हाल कार्यान्वयनमा रहेको ऐच्छिक पहिलो समूहमा रहेका २७ भाषाहरूमध्ये नेपालमा बोलिने भाषाहरूको छुट्टै समूह बनाउने र तीन समूहमध्ये कुनै दुई समूहबाट एक एक ओटा विषय छनोट गर्न पाउने व्यवस्था गरिएको छ।

प्रकाशित: २४ पुष २०८१ १६:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast