शान्ति प्रक्रिया अर्को १८ वर्ष यत्तिकै जाने खतरा छ : प्रचण्ड

हिमाल प्रेस २४ पुष २०८१ १५:१४
8
SHARES
शान्ति प्रक्रिया अर्को १८ वर्ष यत्तिकै जाने खतरा छ : प्रचण्ड

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति प्रक्रियालाई पूरा गराउन सडकमा जाने अवस्था आउन सक्ने बताएका छन्। राज्यद्वारा बेपत्ता यौद्धा राजेन्द्र ढकालको २६ औँ स्मरण दिवसका अवसरमा परिवारले काठमाडौँमा  बुधबार आयोजना गरेको ‘शान्ति प्रक्रिया र बेपत्ता नागरिक सार्वजनिकीकरणको सवाल’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले यस्तो धारणा व्यक्त गरेका हुन्।

प्रचण्डले आफू शान्ति प्रक्रियालाई राजनीतिक सहमतिकै आधारमा टुंग्याउनुपर्छ भनेर निरन्तर लागिरहेको बताए। उनले केही राजनीतिक शक्तिहरुले यसलाई माओवादीविरुद्ध प्रयोग गर्ने हतियारका रूपमा लिएका कारण टुंगिन समस्या भएको आरोप लगाए।

‘अघिल्लो संसद्कै बेलामा विधेयक टुंग्याउने तयारी थियो तर अन्तिममा समस्या आयो’, प्रचण्डले भने, ‘यसपटक विधेयक टुंगिएर पनि आयोग गठनका लागि सिफारिस समिति बनेका बेला समस्या आएको छ। यसको मुख्य कारण राजनीतिक हो। शान्ति प्रक्रियालाई माओवादी कमजोर बनाउने अन्तिम हतियारका रूपमा लिएकाले नटुंगिएको हो। अब विस्तारै दबाब बढाउन यो विषय सडक र सदनमा लैजानुपर्छ।’ आफ्नो पार्टी पीडितहरूका पक्षबाट नेतृत्व गर्न तयार रहेको प्रचण्डले बताए।

प्रचण्डले पीडितहरुले पटकपटक यो विषयलाई उठाइरहनुपर्ने र पीडित पनि सडक आन्दोलनमा तयारीमा जुट्नुपर्ने बताए। पीडितहरूले सरकार र राजनीतिक नेतृत्वलाई अब त शान्ति प्रक्रिया नटुंग्याए बरबाद हुन्छ भन्ने ठाउँमा नपुर्‍याएसम्म अर्को १८ वर्ष यत्तिकै जाने खतरा रहेको प्रचण्डको भनाइ छ। उनले भने, ‘दबाब बढ्दै गयो भने शान्ति प्रक्रिया चाँडै टुंगिने तर दबाब पुगेन भने पीडितका भावनाको जहाँको त्यहीँ रहने खतरा छ।’

बाह्रबुँदे समझदारी र शान्ति सम्झौता संविधानको अंग भइसकेपछि अब संविधान कार्यान्वयन गर्नु राज्यको दायित्व भएको स्मरण गराउँदै उनले यसमा गम्भीर हुन सरकारलाई आग्रह गरे। शान्ति प्रक्रिया लम्बिनुका धेरै कारण रहेको र अहिले ती कारणका पोका खोल्ने पक्षमा आफू नरहेको प्रचण्डले स्पष्ट पारे।

अध्यक्ष प्रचण्डले आफू युद्ध र क्रान्तिको नेतृत्वकर्ता तथा शान्ति सम्झौताको हस्ताक्षरकर्ता हुनुको नाताले छिटोभन्दा छिटो यो विषय टुंगियोस् भन्ने प्रयासमा रहेको बताए।

तत्कालीन बार एसोसिएसन गोरखाका अध्यक्ष ढकाललाई सुरक्षाकर्मीले २०५५ पुस २४ गते तनहुँबाट गिरफ्तार गरी बेपत्ता पारेका थिए। बेपत्ता योद्धा ढकालकी पत्नी विमलादेवी घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण छोरी मञ्जिमा ढकालले गरेकी थिइन्।

प्रकाशित: २४ पुष २०८१ १५:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast