प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ भएको भेटमा सार्वजनिक खरिद नियमावलीमा संशोधन, छड, सिमेन्टलगायत निर्माण सामग्रीमा भएको मुल्यवृद्धि, ठेक्काहरुमा मूल्य समायोजनलगायत ध्यानाकर्षण पत्र बुझाउँदै नेपाल निर्माण उद्योग परिषद््का अध्यक्ष बलिभद्र रानासहित पदाधिकारी । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय/रासस
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल निर्माण उद्योग परिषद्ले निर्माण क्षेत्रमा देखिएको संकुचन अन्त्यका लागि बक्यौता रकम भुक्तानी र भौतिक पूर्वाधारमैत्री वातावरण निर्माण गर्न निर्देशन गरेको छ।
प्रधानमन्त्री निवासमा मंगलबार साँझ भएको भेटमा प्रधानमन्त्री ओलीसँग परिषद्का अध्यक्ष बलिभद्र रानासहितका पदाधिकारीले सार्वजनिक खरिद नियमावलीमा संशोधन, छड, सिमेन्टलगायत निर्माण सामग्रीमा भएको मूल्यवृद्धिलाई ध्यान दिएर ठेक्कामा मूल्य समायोजनलगायत विषयमा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका हुन्।
प्रधानमन्त्री ओलीले निर्माण व्यवसायीको केही रकम भुक्तानी गरिसकिएको र बाँकी रकम भुक्तानी प्रक्रियालाई सहज बनाउनेगरी काम गर्न आफूले सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जानकारी गराए।
सबैभन्दा कम रकममा ठेक्का दिने प्रक्रियाले कतिपय स्थानमा गुणस्तरीय निर्माण कार्य हुन नसकेको भन्दै प्रधानमन्त्री ओलीले गुणस्तरमा सम्झौता नगर्न निर्माण व्यवसायीलाई आग्रह गरे।
सरकारलाई गुणस्तर मापदण्ड पूूरा नभएका कुनै पनि कार्य स्वीकार्य नहुने स्पष्ट गर्दै उनले लागत अनुमान गर्दा सम्भावित जोखिमलाई ध्यानमा राखिएको बताए।
सरकारले विकास निर्माणलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै प्रधानमन्त्रीले विगतमा भूकम्पपछिको पुनःनिर्माणलाई सफलतापूर्वक सम्पन्न गरेको स्मरण गरे।



