काठमाडौँ– मलेसिया सरकारले अवैधानिक रूपमा बसेका कामदारलाई पक्राउ गर्न थालेको छ। जनवरी ३ देखि मलेसियन अध्यागमन विभाग र प्रहरीले अवैध रूपमा बसोबास गर्दै आएका विदेशीलाई पक्राउ गर्न थालेका हुन्। अहिलेसम्म १२ जना नेपाली पक्राउ परेको मलेसियास्थित नेपाली दूतावासका कन्सुलर भोलानाथ गुरागाईँले जानकारी दिए। उनका अनुसार जनवरी ३ मा चारजना पक्राउ परेका थिए। त्यसपछि थप आठजना पक्राउ परेका हुन्।
पूर्वी मलेसियाको जोहरबारु क्षेत्रका बाटु पहाट, मेर्सिङ, मुआर र सेगामाटमा एकैसाथ गरिएको धरपकडमा दुई सयभन्दा बढी विदेशी कामदार पक्राउ परेको मलेसिया स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
विदेशी कामदारले अध्यागमन ऐन तथा नियमावली उल्लंघन गरेर बसेका कारण धरपडक गर्नुपरेको जोहोर अध्यागमन विभागका निर्देशक दातुक मोहम्मद रुस्दी दारुसलाई उधृत गर्दै मलेसियाली सञ्चारमाध्यमले उल्लेख गरेका छन्। उनले अवैधानिक विदेशी कामदारविरुद्धको कारबाही जारी रहेको बताएका छन्।
पक्राउ पर्नेमा नेपाली, भारतीय, म्यानमारी, थाई, बंगलादेशी, इन्डोनेसियाली, पाकिस्तानी छन्। मलेसियाले विदेशी कामदारको नयाँ भर्नाका बारेमा ताजा निर्णय लिनुअघि अवैधानिक अवस्थामा बसेका विदेशी कामदारलाई वैध बनाउन र देश निकालालाई तीव्रता दिएको छ।
मलेसियामा जारी दोस्रो श्रम रिक्यालिब्रेसन कार्यक्रम (आरटीके २) ३१ मार्चसम्म सञ्चालन हुने छ। पक्राउ परेका विदेशीलाई मलेसियाले निश्चित रकम जरिबाना तिराएर ५ वर्षसम्म कुनै पनि कामका लागि आफ्नो प्रवेशमा रोक लगाउँछ। अवैधानिक विदेशी कामदारको अनलाइन दर्ता र वैधानिकीकरणको कामको अनुगमन टोली घटाइएको छ।