काठमाडौँ– अघिल्लो वर्षभन्दा यस वर्ष धान उत्पादन बढेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको छ। पछिल्लो ६ वर्षमा ३ करोड २४ लाख ६९ हजार ३९५ मेट्रिक टन धान उत्पादन भएको छ। औसतमा १४ लाख ५२ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुँदा वार्षिक ५४ लाख ११ हजार ५६५ मेट्रिक टन उत्पादन भइरहेको मन्त्रालयको तथ्यांक छ।
असोजमा गएको बाढीले ५८ हजार चार सय ७६ हेक्टरमा पूर्ण क्षति गरेको थियो। बाढीकै कारण तीन अर्ब ५० करोड रुपैयाँबराबरको धानमा क्षति भएको छ। यति क्षति भए पनि गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा ३ लाख ३३ हजार मेट्रिक टन धान उत्पादन बढेको मन्त्रालयकी प्रवक्ता डा. मतिना जोशी वैद्यले जानकारी दिइन्।
उनका अनुसार तुलनात्मक रूपमा कम रोपाइँ भएको यस वर्ष बाढीले थप क्षति गरेपछि धानको राष्ट्रिय उत्पादनमै असर पर्ने देखिएको थियो। ‘तर त्यस्तो भएन। चालु आर्थिक वर्षमा धान उत्पादनले कीर्तिमान कायम गरेको छ। अब ५ देखि ७ लाख मेट्रिक टन धान उत्पादन बढाउन सक्यौँ भने धानमा नेपाल निर्भर हुन्छ’, उनले भनिन्।
रासायनिक मल र उन्नत जातको धानखेती गरिएकाले उत्पादन बढेको उनको उनी बताउँछिन्। साथै कृषि औजार, प्रविधिको प्रयोग र मौसमी अनुकूलताका कारण उत्पादनमा बढोत्तरी भइरहेको उनको दाबी छ। धानको उन्नत बिउको उपलब्धता, रोग र किराको प्रकोप नहुनु जस्ता कारण पनि उत्पादन बढेको वैद्यले जानकारी दिइन्।
गत आर्थिक वर्षमा ५६ लाख २१ हजार ७ सय १० मेट्रिक टन धान उत्पादन भएको थियो। गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा ४.०४ प्रतिशतले बढेको हो। सरोकारवालाहरूका अनुसार किसानले परम्परागत खेती प्रणालीबाट धान उत्पादन बढाइरहेका छन्।
धानखेतीमा आधुनिक प्रविधि भित्र्याउन नसकिएको कृषि विभागका प्रवक्ता जगन्नाथ तिवारी स्वीकार छन्। धानखेतीका लागि उन्नत बिउ भित्रिए पनि खेती गर्ने प्रणाली परम्परागत छ। तिवारीले परम्परागत प्रणालीकै आधारमा उत्पादन बढेको बताए। ‘सरकारले धानखेतीका लागि उन्नत जातको बिउसँगै आधुनिक खेतीका लागि विशेष जोड दिनुपर्छ। आधुनिक तरिकाले धानखेती गर्ने प्रविधि भित्र्याए धानमा अत्मानिर्भर हुन समस्या छैन’, उनले भने।
कृषिविज्ञ हरि दाहाल धान उत्पादन बढी हुँदाको वर्षमा समग्र आर्थिक वृद्धिदरमा ठूलो सहयोग पुग्ने बताउँछन्। नेपालको समग्र अर्थतन्त्रमा धानको उत्पादनको महत्त्वपूर्ण हिस्सा बन्दै गए पनि सरकारले धानखेतीमा आधुनिक प्रविधि भित्र्याउन चासो नदिएको उनको टिप्पणी छ। ‘नेपालमा धान उत्पादन बढेको छ। धानखेती गरिएको जमिनको क्षेत्रफल घटे पनि उत्पादन बढेको देखिन्छ’, उनले भने। सरकारले आधुनिक प्रविधि भित्र्याएर धान उत्पादन बढाउनुपर्ने उनको सुझाव छ।
चालु आर्थिक वर्षमा सबैभन्दा धेरै धान मधेश प्रदेशमा उत्पादन भएको छ भने सबैभन्दा कम उत्पादन कर्णाली प्रदेशमा भएको छ। मधेशमा कुल १४ लाख ८० हजार मेट्रिक टन धान उत्पादन भएको कृषि मन्त्रालयको तथ्यांकमा छ। कोशीमा १४ लाख ६६ हजार मेट्रिक टन, लुम्बिनी प्रदेशमा १३ लाख ६४ हजार मेट्रिक टन, सुदूरपश्चिममा ६ लाख ३६ हजार मेट्रिक टन, बागमतीमा ४ लाख ९८ हजार मेट्रिक टन, गण्डकीमा ३ लाख ७९ हजार मेट्रिक टन र कर्णाली प्रदेशमा १ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएको छ।