काठमाडौँ- नेकपा एमालेको सुदूरपश्चिम प्रदेशको राजनीति केही तरल बनिरहेको छ। पूर्व केन्द्रीय उपाध्यक्ष भीम रावललाई एमालेले निष्कासन गरेपछि एमाले छाड्ने र नेतृत्वसँग असन्तुष्टी जनाउने क्रम बढ्दो छ।
रावल त एमाले अध्यक्ष ओलीविरुद्ध असन्तुष्टि जनाउँदै अभियानमा खटिएका छन्। यति बेला सुदूरपश्चिममा एमालेमै अर्को संकट आइलागेको छ, त्यो पूर्वमाओवादीको असन्तुष्टि। एमालेमा नेकपा व्युँतिएपछि रहेको पूर्वमाओवादी र तत्कालीन रावलसहितका नेताको गुट ‘१० बुँदे’ हरू एकसाथ छन्।
एकातिर रावल निष्कासनमा परेपछि असन्तुष्टि देखिएको एमालेमा पूर्वमाओवादी कार्यकर्ताले पनि पार्टी छाड्दै गएका छन्। फलस्वरूप एमाले कैलालीको गोदावरीका ४६ पूर्वमाओवादीले पार्टी छाडे। गोदावरी एमालेका सचिव एवं पूर्वमाओवादी नेता लेखराज भट्टको गृह नगर हो। भट्ट एमालेका प्रदेश इन्चार्ज पनि हुन्। सुदूरपश्चिमको समस्या यतिमै सीमित रहेन। उनै भट्टले पनि पार्टी छाडेको कुप्रचार एमालेभित्रबाट भयो। यतिसम्मकी भट्टकै सचिवालयले खण्डन गर्नुपर्ने भयो।
सामाजिक सञ्जालमा आफूसहितका नेता, कार्यकर्ताले पार्टी छाडेको भनेर गलत प्रचार गरिएको भन्दै भट्टको सचिवालयले आम नागरिकलाई भ्रममा नपर्न आग्रह गरेको थियो।
एमाले सचिव तथा इन्चार्जले एमाले छोडेको भन्दै सामाजिक सञ्जालमा लेखेपछि अहिले भट्टको सचिवालयले उक्त विषय गलत रहेको भन्दै प्रस्टीकरण दिएको छ । भट्टका स्वकीय सचिव समेत रहेका एमाले जिल्ला सचिवालय सदस्य हितेस ओझाले पूर्व सचिवको स्ट्याटस खण्डन गरेका छन् ।
‘उहाँ (लेखराज भट्ट)ले एमाले छोड्ने कुरा सोच्नसम्म पनि सक्नु हुन्न । पार्टीको त्यस्तो जिम्मेवार पदमा रहनु भएका नेतालाई पार्टी परित्याग गरेको भन्दै लेखिएको स्ट्याटसबारे हामी गम्भीर भएका छौँ’ ओझाले भने ‘त्यसविरुद्ध हामी कानुनी लडाइमा जान्छौँ ।’
पूर्व सचिव उपाध्यायले भट्टको तस्बिर सहित राखेर सामाजिक सञ्जालमा एमाले परित्याग गरेको लेखेपछि अन्य केहीले पनि त्यही अनुसारको टिप्पणी गरेका छन्। यता भट्टको सचिवालयले भने पार्टी कमजोर बनाउन अफवाह फैलाएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ।