भूकम्प अपडेट : चीनमा मृत्यु हुनेको संख्या १२६ पुग्यो, घाइते १८८

हिमाल प्रेस २४ पुष २०८१ ७:३८
20
SHARES
भूकम्प अपडेट : चीनमा मृत्यु हुनेको संख्या १२६ पुग्यो, घाइते १८८ तिब्बतमा चाङ्सुओ टाउनसिप गाउँमा भूकम्पपछि क्षतिग्रस्त घर। तस्बिर : सिन्हवा/रासस

चीनमा मंगलबार बिहान गएको भूकम्पबाट मृत्यु हुनेको संख्या १ सय २६ पुगेको छ। सिजाङ स्वायत्त क्षेत्रको सिगाजे सहरको डिं काउन्टीमा मंगलबार नेपाली समयअनुसार बिहान ६:५० बजे ७ म्याग्निच्युडको भूकम्प गएको थियो ।

पछिल्लो अपडेटअनुसार भूकम्पबाट १ सय ८८ जना घाइते भएको सिन्ह्वाले जनाएको छ । भूकम्पले तिब्बतको निकै विकट क्षेत्रमा १ हजारभन्दा बढी घरमा क्षति पुगेको बताइएको छ ।

प्रारम्भिक सर्वेक्षण अनुसार ३ हजार ६०९ घरहरू भत्किएका छन् भने सिगाजेको सहरमा मात्रै ४०७ जनालाई उद्धार गरिएको छ। ३० हजारभन्दा बढी प्रभावित बासिन्दाहरूलाई स्थानान्तरण गरिएको छ।

अलपत्र परेकाहरुको खोजी कार्य जारी रहेको छ। उद्धारकर्ताहरूले एकदमै चिसो मौसममा पुगेर काम गरिरहेका छन्।भूकम्पको केन्द्रबिन्दुमा रहेको त्सोगो टाउनसिप र ​​सबैभन्दा बढी प्रभावित चाम्को टाउनसिपका घरहरू भत्किएका छन्।

त्सोगोको मेटोग गाउँका ४९ वर्षीय पासाङ त्सेरिङले भने, ‘पहिलो झड्का बिहान हुनुअघि नै परेको थियो र यसले बत्ती र फर्निचरलाई हल्लायो। त्यसपछि दोस्रो र बलियो आयो, त्यसैले म तुरुन्तै बाहिर निस्किएँ।’ उनले सिन्ह्वालाई बताए।

‘यति ठूलो भूकम्प मैले पहिले कहिल्यै देखेको थिइनँ,’ घर सफा गर्ने क्रममा पासाङ नाम गरेका अर्का गाउँलेले भने। ‘हामी अब रात कहाँ बिताउने भन्नेमा सबैभन्दा बढी चिन्तित छौँ। गाउँमा केही खाली पालहरू छन्, र अधिकारीहरूले थप बाटोमा छन् भने।’

प्रकाशित: २४ पुष २०८१ ७:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast