एमाले बैठकको निष्कर्ष : स्थायित्वको आशा जाग्यो

हिमाल प्रेस २३ पुष २०८१ १८:०२
12
SHARES
एमाले बैठकको निष्कर्ष : स्थायित्वको आशा जाग्यो एमालेको केन्द्रीय कमिटीको आठौँ बैठकमा सहभागी सदस्यहरू। तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ- नेकपा एमालेले ठूला दुई दल मिलेर सरकार गठन भएपछि देशमा राजनीतिक स्थायित्वको आशा जागृत भएको निष्कर्ष निकालेको छ। पार्टी कार्यालय च्यासलमा मंगलबार सम्पन्न एमालेको केन्द्रीय कमिटी बैठकले राष्ट्रिय हितको रक्षा, राजनीतिक स्थायित्व, अर्थतन्त्रमा गतिशीलता, सुशासन, विकास र समृद्धिको मुख्य उद्देश्य राखेर नेकपा (एमाले) र नेपाली कांग्रेस सम्मिलित संयुक्त सरकार गठन भएपछि देशमा राजनीतिक स्थायित्वको आशा जागृत भएको निष्कर्ष निकालेको हो।

विभिन्न १४ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै बैठकले ऐतिहासिक अवसरलाई सदुपयोग गर्दै अर्थतन्त्रलाई गतिशील बनाउन, सुशासन, विकास र समृद्धिको अभिभारा र गर्न एवं राजनीतिक स्थायित्व सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ। सरकारको सफलताका लागि हरसम्भव योगदान गर्न प्रतिवद्ध रहने निर्णय गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

बैठकले प्राप्त उपलब्धिको संरक्षण र राजनीतिक स्थायित्वलाई सुनिश्चित गर्ने गरी बृहत् समझदारी र सहभागितामा संविधानको समयानुकूल संशोधन प्रक्रिया अघि बढाउन सरकारसंग आग्रह गरिएको गौतमले बताए।

एमालेको नेतृत्वमा निर्णायक राष्ट्रिय शक्ति निर्माणको अभियानलाई सफल बनाउन पार्टी विभाजनलगायतका कारणले पार्टी बाहिर रहेका सबै नेता र स्वतन्त्र ढङ्गले क्रियाशील रहेकाहरूलाई एमालेमा फर्कन आग्रह गरेको गौतमले बताए।

केन्द्रीय कमिटी बैठकले ८० को दशकलाई समृद्धि र रोजगारी सिर्जनाको दशकका रूपमा अघि बढाउन सरकारलाई सुझाव दिएको छ। यसैगरी भ्रामक र झुट्टा सूचना प्रवाह गर्ने क्रमलाई रोक्न नियामक निकायहरूलाई प्रभावकारी बनाउनसमेत बैठकले सरकारसँग माग गरेको छ। बैठकले अध्यक्ष केपी ओलीको राजनीतिक तथा महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदन पारित गरेको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए।

प्रकाशित: २३ पुष २०८१ १८:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast