काठमाडौँ- नेकपा माओवादी केन्द्र अब ६ महिनासम्म संगठन सुदृढीकरण अभियानमा जाने भएको छ। पार्टीको तीन दिनसम्म चलेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो। बैठक समापन समारोहमा मंगलबार सम्बोधन गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब पहिलो ६ महिना अभियानमा जाने र त्यसपछि अर्को ६ महिनाको तयारी गरेर नयाँ विचार संश्लेषणका लागि महाधिवेशनमा जाने घोषणा गरेका हुन्।
६ महिना अभियान चलाएपछि असारमा केन्द्रीय समिति बैठक आयोजना गर्ने अध्यक्ष प्रचण्डले बताए। उनले भने, ‘अहिलेको केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा बदलेर महाधिवेशनको तयारीमा जानेछौँ।’ अभियानबाट व्यापक रूपमा जनताको सुझाव आउने भएकाले ६ महिने अभियान पनि महाधिवेशनकै तयारी हुने उनले स्पष्ट पारेका छन्।
माघ महिनाभरि अभियानको तयारी गरेर फागुन १ गते जनयुद्ध मनाएर हुलाकी र पूर्वपश्चिम राजमार्गमा जनतासँग माओवादी अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ। त्यस्तै चैतभरि तयारी गरेर वैशाख महिनाभरि हिमाली र मध्यपहाडी क्षेत्रलाई केन्द्रित गरी मध्यपहाडी लोकमार्गमा जनतासँग माओवादी अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ।
बैठकले सबै नेताहरुले जिम्मेवारी पाउने गरी कार्ययोजना प्रस्ताव पारित गरेको छ। सबै नेता पालिका र वडासम्म पुग्ने गरी केन्द्रीय कार्यालयले सबै नेताहरुको एक साताभित्र कार्यविभाजनलाई अन्तिम रूप दिने र माघको पहिलो सातासम्म सर्कुलर गरिने अध्यक्ष प्रचण्डले जानकारी दिए।
बैठकले विचार मिल्ने पार्टीसित एकताको तयारी गर्न उच्चस्तरीय पार्टी एकता संवाद समिति गठन गरेको छ। समितिले चाँडै एकता वार्ताको पहल गर्ने अध्यक्ष प्रचण्डले जानकारी दिए। बैठकले अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको पार्टी रुपान्तरण र पुनर्गठनको संकल्प, आजको एतिहासिक आवश्यकता शीर्षकको राजनीतिक प्रस्ताव परिमार्जनसहित पारित गरेको छ। सो प्रस्तावमा पदाधिकारी र सदस्य गरी ११८ जनाले सुझाव दिएका थिए।
बैठकमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आठौँ केन्द्रीय समितिको छैटौँ पूर्ण बैठक एकता र विजयको बैठक भएको बताएका छन्। उनले यो ऐतिहासिक र दूरगामी महत्त्वको बैठक भएको बताए।
बैठकले पार्टीभित्र विचार, कार्ययोजना र भावनामा एकरूपता कायम गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले पार्टीलाई फेरि आफ्नो वर्ग र समुदायतिर फर्काएर यसले विजयको आधार तयार गरेको दाबी गरे। उनले भने, ‘बैठकका निर्णय कार्यान्वयनमा जाँदा समाजवादी क्रान्तिका लागि कोसेढुंगा बन्ने र यसले निरन्तरतामा क्रम भंग गरेको छ।’