काठमाडौँ- सत्तारुढ दल नेकपा एमालेले चर्चामा आएका सबै भ्रष्टाचार काण्डहरूको छानबिन गर्न सरकारको ध्यानाकर्षण गरेको छ। आज समापन भएको केन्द्रीय कमिटी बैठकले पारित गरेको विशेष प्रस्तावमा यस्तो आग्रह गरिएको छ। बैठक आइतबारदेखि सुरु भएको थियो।
प्रस्तावमा भनिएको छ,‘गम्भीर सामाजिक चुनौतीका रूपमा रहेको भ्रष्टाचारलाई नियन्त्रण गर्न सरकारले सुरु गरेका कदमहरू सकारात्मक छन्। यो बैठक भ्रष्टाचारको अनुसन्धान, अभियोजन र न्याय निरुपणका लागि स्थापित राज्यका निकायहरूलाई अझ अधिकारसम्पन्न र साधनस्रोतयुक्त बनाउन, भ्रष्टाचारकाविरुद्ध सामाजिक जागरण वृद्धि गर्न, सहकारी अनियमिततामा बचतकर्ताहरूको रकम सुरक्षितसाथ फिर्ता हुने कुरा सुनिश्चित गर्न, मुछिएका जोसुकैकाविरुद्ध निर्ममतापूर्वक प्रस्तुत हुन र भ्रष्टाचार भएको भनी चर्चामा आएका सबै प्रकरणहरूको यथाशीघ्र छानबिन गरी निष्कर्षमा पुऱ्याउन सरकारको ध्यानाकर्षण गर्दछ। आफ्नो पंक्तिमा सदाचार, स्वच्छता र पारदर्शिता सुनिश्चित गर्ने गराउने दृढ संकल्प गर्दछ।’
बैठकले विभिन्न १४ वटा समसामयिक प्रस्तावहरू पारित गरेको छ। बैठकबाट अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदन पारित भएको छ।