बालेनको सचिवालयका सदस्यले प्रधानाध्यापकहरूलाई ‘किलाकाँटा निकालिदिन्छु’ भनेपछि…

रमेश दवाडी २३ पुष २०८१ १५:१९
3.0k
SHARES
बालेनको सचिवालयका सदस्यले प्रधानाध्यापकहरूलाई ‘किलाकाँटा निकालिदिन्छु’ भनेपछि…

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले अनुचित व्यवहार गरेपछि आफूहरू विरोधमा उत्नन बाध्य भएको आरोप सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले लगाएका छन्। पछिल्लो समय शिक्षक तालिमका विषयमा शिक्षकहरूको असन्तुष्टि सार्वजनिक भएपछि महानगरपालिका र प्रधानाध्यापकबीचको विवाद सतहमा आएको हो। प्रधानाध्यापक असन्तुष्ट बन्नुको कारण तालिम नभएर महानगरपालिकाको अनुचित व्यवहार भएको जानकारी महानगरअन्तर्गतको एक सामुदायिक विद्यालयका प्रधानाध्यापकले दिएका छन्।

ती प्रधानाध्यापकले हिमालप्रेससँग भने, ‘महानगरले हामीलाई हेप्दै आएको छ। अहिले तालिमको विषयले विवादका कुरा छताछुल्ल भएका छन्।’ उनका अनुसार मेयर साहसँग आफ्ना कुरा राख्छौँ भनेर सचिवालयमा अनुरोध गर्दा उल्टै हप्काइ सहनुपर्ने अवस्था छ।

मेयर साहको सचिवालयले शिक्षकका समस्या मेयरसम्म पुग्न नदिएको गुनासो ती प्रधानाध्यापकको छ। ‘हरेक बैठकमा प्रधानाध्यापकलाई थर्काउने, होच्याउने गरिन्छ। पाँच जनाभन्दा ६ जना नबोल भन्छन्। त्यसो भन्न मिल्छ बैठकमा? बोल्न खोज्दा तँलाई जानेको छु, चिनेको छु, शिक्षक महासंघ को हो? भन्छन्। महासंघ को हो, म चिन्दिनँ भन्छन्,’ उनले भने। महानगरले राख्ने हरेक प्रधानाध्यापकको बैठकमा महानगरकै प्रतिनिधिले प्रधानाध्यापकलाई बोल्न नदिने र धम्कीपूर्ण भाषा प्रयोग गर्ने गरेको गुनासो ती प्रधानाध्यापकको छ।

‘मेयर बालेन साहको सचिवालयका मान्छेहरूले प्रधानाध्यापकसँगको बैठकमा तपाईँहरू ठूला कुरा गर्ने? तपाईँहरूका स्कुलका सबै हिसाबकिताब मलाई थाहा छ। तपाईँहरूका किलाकाँटा निकाल्छु भने। हामी त हेड मास्टर हौँ नि। शिक्षकले त मेयरसँग आफ्नो कुरा राख्ने हैसियत राख्छ भने प्रधानाध्यापकले राख्द पाउँदैन? पेसागत संस्थाका प्रतिनिधिले पेसाका कुरा राख्न पाउँदैनन्? यहीँबाट टसल सुरु भएको हो। तालिम त तपसिलका कुरा हुन्,’ ती प्रधानाध्यापक भन्छन्।

मेयर बालेनका सचिवालयका सदस्यहरूले शिक्षक-कर्मचारी रिक्त भएका विद्यालयमा आफ्ना मान्छे राख्न दबाब दिएको पनि ती प्रधानाध्यापकले बताए। ती प्रधानाध्यापकले भने, ‘हामीले विद्यालयमा योग्य मान्छे राख्न खोज्दा उनीहरूकै मानिस राख्नपर्ने दबाब हुन्छ। विद्यालयमा महानगरका कार्यक्रम सञ्चालन गर्न परिपत्र गरिन्छ  तर बजेट दिइँदैन।’

महानगरले भनेअनुसार तालिम र कोचिङ कक्षा एकैपटक हुन नसक्ने पनि ती प्रधानाध्यापक बताउँछन्। उनी भन्छन्, ‘शिक्षकहरूले तालिम लिन अनिच्छुक हुनुहुन्न। महानगरले कोचिङ चलाउनुपर्ने भनेको छ, तालिम पनि लिनुपर्ने भनेको छ। कक्षा ८, ९, १० कोचिङ चलाएपछि तालिम लिन को जाने? हामीसँग सल्लाह महानगरले बलमिच्याइँ गरेको हो। अहिले देखिएको समस्या त्यसकै परिणति हो।’

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका सदस्य कुमार बजागाईँले काठमाडौँ महानगरले अनावश्यक तनाव दिएको गुनासो प्रधानाध्यापकहरूबाट आइरहेको बताए।  उनले भने, ‘काठमाडौँ महानगरपालिकाले पछिल्लो समय प्रधानाध्यापकलाई विभिन्न तनाव दिएको गुनासो आएको छ। प्रधानाध्यापकसँग कुनै सल्लाह नगरी जाडो बिदामा क्षमता वृद्धि कार्यक्रम भनेर पत्र पठाउँछ। शिक्षक, प्रधानाध्यापक तलब मात्र खान्छन् भन्ने महानगरको सोच देखिन्छ। भोलिबाट जाडो बिदा हुँदैछ, आज पत्र पठाएर हुन्छ?’

केन्द्रीय सदस्य बजगाईँले एनजीओको सहकार्यमा कक्षा १२ र स्नातक पढ्ने विद्यार्थीलाई प्रशिक्षक बनाएर प्रधानाध्यापकको मानमर्दन गरिरएको आरोप लगाए। उनले भने, ‘महानगरका कार्यक्रम भन्ने एनजीओलाई दिने? कक्षा १२, स्नातक पढ्दै गरेका भाइबहिनी प्रशिक्षकका रूपमा खटाउने? तालिम नलिने होइन लिने हो। प्रधानाध्यापक, विषय शिक्षकलाई तालिम दिँदा त्योभन्दा माथिल्लो पाठ्यक्रमबाट, शिक्षा विभागबाट, विज्ञहरू आएर दिनपर्‍यो नि!’

बजगाईँले स्थानीय सरकारका प्रतिनिधिले शिक्षकमाथि दमन गर्न खोजेको आरोप लगाउँदै शिक्षकका अधिकार खोस्ने, शिक्षकले पढाएकै छैन भन्ने भनेर कुप्रचार गर्ने गरिएको बताए।

महानगर सहरी योजना आयोगका सदस्य शैलेन्द्र झा भने विषयविज्ञ, योग्य प्रशिक्षकबाट प्रधानाध्यापकलाई सम्मानपूर्वक तालिम दिन लाग्दा विरोध हुनु गलत रहेको बताउँछन्। उनी भन्छन्, ‘योग्य प्रशिक्षकबाट तालिम दिएका छौँ।’ उनले प्रधानाध्यापकहरूमा सूचना पुग्न ढिलाइ भएको स्वीकार गरे। झाले भने, ‘कतिपय प्रधानाध्यापक विद्यालयमै पनि पढाइरहनुभएको छ। उहाँहरूमा सूचना पुग्नचाहिँ ढिलै भएको हो। इच्छुक शिक्षकले तालिम लिइरहनुभएको छ।’

झाले केही प्रधानाध्यापकहरूले मेयरका सचिवालयबाट अनुचित व्यवहार गरेको विषयमा कुनै सत्यता नभएको बताए। उनले भने, ‘सामाजिक सञ्जालतिर आएका कुराको विश्वास नगरौँ।’

महानगरको शिक्षा  विभागका अनुसार जाडो बिदामा शिक्षकको क्षमता विकास, नतिजा सुधारसम्बन्धी तथा रचनात्मक विद्यालय विकास कार्यक्रम गर्न भनेर प्रधानाध्यापकलाई पत्राचार गरिएको हो। नेपाल शिक्षक महासंघ काठमाडौँ महानगर समितिले शिक्षकहरूले नियमअनुसार पाउने जाडो बिदाको सुविधा वञ्चित गर्न खोजेकोमा विरोध जनाएको छ।

क्यालेन्डरमा हाल प्रचारमा ल्याइएका कुनै कार्यक्रम नरहेको, पर्याप्त छलफल तथा सरोकारवालासँगको समन्वय विना हचुवाका आधारमा कार्यक्रम गर्दै जाँदा राज्यकोषको दुरुपयोग हुने तर अपेक्षित उपलब्धि हासिल नभएको जस्ता आरोप समितिले लगाएको छ। शैक्षिक सत्रको अन्तिममा वार्षिक परीक्षा सकिएपछि यस्ता कार्यक्रम सञ्चालन गर्न गराउन समितिले माग गरेको छ।

शैक्षिक क्यालेन्डरअनुसार पुस १८ देखि माघ ८ गतेसम्म महानगरभित्रका विद्यालयमा जाडो बिदा तोकिएको छ। सोही बिदामा तालिमका लागि भन्दै महानगरपालिकाको शिक्षा विभागले  पुस १६ गते ‘तालिम तथा कार्यक्रम सञ्चालनको जानकारी सम्बन्धमा’ भन्दै पत्र काटेको थियो।

महानगरको शिक्षा विभागका अधिकृत केशव ज्ञवालीले महानगरसँग प्रधानाध्यापकहरूको त्यति ठूलो विवाद नरहेको बताए। उनले भने, ‘तालिमका विषयमा असन्तुष्टि होइन। उहाँहरूको भनाइ जाडो बिदामा तालिम सञ्चालन गर्नु उपयुक्त छैन भन्ने हो। उहाँहरूसँग कुराकानी भइरहेको छ। हामी समन्वय गरेर अगाडि बढ्छौँ। यो ठूलो विषय होइन।’

उनका अनुसार महानगरको शिक्षा विभाग र प्रधानाध्यापकबीच मंगलबार भएको वार्ता सहमतिमा पुग्न सकेको छैन। प्रधानाध्यापकहरूले वार्तामा महानगरका शिक्षासमेत हेर्ने सदस्य चिनीकाजी महर्जनलाई आफ्ना माग समेट्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएका छन्।


प्रतिक्रिया

One thought on “बालेनको सचिवालयका सदस्यले प्रधानाध्यापकहरूलाई ‘किलाकाँटा निकालिदिन्छु’ भनेपछि…

  1. संघ संगठनहरु पार्टीको आचि पुछ्दा शिक्षकको हैसियत यस्तो भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast