काठमाडौँ- मंगलबार बिहान ६:५० मा तिब्बतको डिंग्री काउन्टी केन्द्रबिन्दु बनाएर गएको भूकम्पले नेपालका पनि विभिन्न स्थानमा असर पारेको छ। भूकम्प मापन केन्द्र लैनचौरका अनुसार ७ म्याच्नेच्युटको ठूलो भूकम्पले नेपालका पूर्वी क्षेत्रमा बढी असर गरेको छ। अहिले गृह मन्त्रालयले भूकम्पको प्रारम्भिक विवरण लिइरहेको छ।
मन्त्रालयका अनुसार बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १ देवकोटास्थित त्रिचन्द्र माविमा भूकम्पका कारण विद्यार्थी बेहोस भएका छन्।
कक्षा ७ र ८ मा पढ्ने ११ जना विद्यार्थी बेहोस भएको र उपचारपछि स्वास्थ्य अवस्था सामान्य भई उनीहरू डिस्चार्ज भइसकेको जनाएको छ।
भूकम्प आउँदा आत्तिएर विद्यार्थी बेहोस भएको प्रहरी कार्यालय कलैयाले जानकारी दिएको छ। साना कक्षाका विद्यार्थीलाई भूकम्पबारे थाहा नहुँदा आत्तिएको प्रहरीले जानकारी दिएको छ। अहिले विद्यार्थी घर फर्किसकेका छन्।