रविका वकिलहरूको दाबी : पूरक अभियोग हदम्याद नाघेर आएकाले खारेज हुनुपर्छ

हिमाल प्रेस २२ पुष २०८१ १८:४६
36
SHARES
रविका वकिलहरूको दाबी : पूरक अभियोग हदम्याद नाघेर आएकाले खारेज हुनुपर्छ

पोखरा- पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक सभापति रवि लामिछानेको तर्फबाट उनका वकिलले सोमबारदेखि बहस सुरु गरेका छन्। कास्की जिल्ला अदालतमा पहिलो दिन सोमबार बहस नसकिएपछि मंगलबारसमेत लामिछानेका वकिलले बहस गर्ने जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिवादी बनाइएका लामिछानेको तर्फबाट तीन जना वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, रमनकुमार श्रेष्ठ र सुरेन्द्र थापाले क्रमशः बहस गरेका हुन्। उनीहरूले पूरक अभियोग हदम्याद नाघेर आएकाले खारेज भागी हुनुपर्ने जिकिर गरेका छन्।

लामिछानेलाई सम्पत्ति शुद्धीकरण मुद्दामा मात्र झण्डै २८ करोड माग दाबी गरिनु गलत भएको उनीहरूको दाबी थियो। लामिछानेको खातामा सात लाख मात्र जम्मा रहेको बताएका छन्। लामिछाने गोर्खा मिडियामा प्रवेश गर्नुभन्दा पहिलेका खाताहरू समेत हेरिएको र २८ करोड भन्नु झुटो आरोप भएको जिकिर गरेका छन्। लामिछाने सन् २०२१ मा मात्र गोर्खा मिडिया गएको भए पनि सन् २०११ देखिका खाता हेरिनु गलत भएको उनीहरूको दाबी छ।

रवि लामिछानेको हस्ताक्षर गरी लिइएको भनिएको १ करोडको माग फाराममा उनको नभई कीर्ते गरिएको भन्ने प्रमाणित भइसकेको, सहकारीको ऋणी भएको भए उनको नाममा कबुलियतनामा हुनुपर्ने, सहकारीले रकम असुल्नका लागि ताकेता गरेको चिठीपत्रहरू हुनुपर्ने केही पनि नभएकाले सेयर सदस्य नै नभएको व्यक्तिलाई सहकारी ठगीको मुद्दा चलाउन प्रचलित कानुनले नदिने बहस गरेका थिए।

रवि पक्षका कानुन व्यवसायीले उनलाई शुद्ध तारेखमै रिहा गर्नुपर्ने विश्वाससमेत व्यक्त गरेका छन्। मंगलबार रविका पक्षबाट दुईचार जना वकिललाई पालो दिइने अदालत स्रोतले जनाएको छ। उनको पक्षमा बहस गर्नेहरूको संख्या धेरै भएपछि न्यायाधीश नीतिज राईले सोमबार बहसको सुरुआतमै एउटै कुराहरु नदोहोर्‍याउन निर्देश गरेका थिए।

बेञ्चमा बहस भइरहँदा अदालत बाहिर रविका समर्थकले नाराबाजी गरेका थिए। सूर्यदर्शन सहकारी संस्थाको रकम ठगीसमेतका मुद्दामा ६३ जनालाई प्रतिवादी बनाएर कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको छ।

गत वर्ष १८ असोजमा सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष जीबी राईसमेत १९ जनालाई प्रतिवादी बनाई मुद्दा दायर भएकामा गत ५ र ७ पुसमा लामिछाने, पूर्व डीआईजी छविलाल जोशी समेतलाई प्रतिवादी बनाएर पूरक अभियोग लगिएको थियो। ती प्रतिवादीविरुद्ध १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ रुपैयाँ ३ पैसा बिगो माग दाबी छ।

हाल अदालत उपस्थित गराइएका लामिछानेसमेत ७ प्रतिवादीमध्ये छविलाल जोशी, लीला पछाईंको तर्फबाट तिनका वकिलले बहस गरिसकेका छन्। अझै रामबहादुर खनाल, मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङका तर्फबाट कानून व्यवसायीले थुनछेक बहस गर्न बाँकी छ।

शुक्रबारसम्म सबैको तर्फबाट बहस सकिने र सोही दिनसम्म अदालतले आदेश गर्ने अनुमान छ।

प्रकाशित: २२ पुष २०८१ १८:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast