काठमाडौँ- जेनी सुनुवारको निर्देशनमा नाटक ‘द स्ट्रङ्गर’ मञ्चन हुने भएको छ। नाटक यही पुस २६ देखि ललितपुरको महालक्ष्मीस्थानस्थित थसिखेलमा रहेको थिएटर भिलेज नेपालमा हुन लागेको हो।
निर्देशक सुनुवारकै परिकल्पनामा तयार भएको नाटकका लेखक अगस्ट स्ट्राइन्डबर्ग हुन्। उनले यो नाटक सन् १८८९ मा लेखेका थिए। निर्माण टिमकाअनुसार नाटक दुई पात्रलाई प्रतीकात्मक बनाइएको छ।एकले शरीर (रातो कपडा) र अर्कोले आत्मा (सेतो कपडा) को प्रतिनिधित्व गर्नेछ।
दुई पात्रबीच उत्पन्न तनावलाई नै केन्द्रीय द्वन्द्वको रूपमा प्रस्तुत गरिएको छ। नाटकले सत्ता, शक्ति, पहिचान र महिलामाथिका सामाजिक अपेक्षाको अवधारणामाथि प्रश्न गर्ने टिमको विश्वास छ।
नाटकमा कलाकार निर्देशक सुनुवारसहित, सरगम राई, सन्जीव राई र बालाहाङ राईले अभिनय गरेका छन्। थिएटर भिलेज नेपालको प्रस्तुति रहेको नाटक माघ १२ सम्म मञ्चन हुनेछ। साताको प्रत्येक दिन साँझ ५ बजे मञ्चन हुने थिएटरले जनाएकाे छ।