काठमाडौँ- शिक्षा क्षेत्र सुधार्न सरकारलाई दबाब दिने उद्देश्यले काठमाडौँको माइतीघरमा ८ दिनदेखि उभिँदै आएका नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईँले आन्दोलन स्थगित गरेका छन्।
सोमबार माइतीघर पुगेर शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई र प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समिति सभापति अम्मरबहादुर थापाले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि चापागाईँले आन्दोलन स्थगित गरेका हुन्।
शैक्षिक क्षेत्र सुधारको मागसहित आन्दोलन सुरु गरेका चापागाईँ सातै प्रदेशमा उभिएर काठमाडौँ आएका थिए। काठमाडौँमा उनी उभिन थालेको सोमबार ८ दिन हो। खुट्टा सुन्निएपछि उनी बैशाखीको सहारामा उभिएर आन्दोलनलाई निरन्तरता दिएका थिए।
ईसीडी शिक्षकको योग्यता, अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको सुविधा, विद्यार्थीलाई दिइँदै आएको खाजा शुल्क वृद्धिलगायत १४ बुँदे माग चापागाईँले राखेका छन् । गत जेठमा उनी काठमाडौँको माइतीघरमै १९ दिनसम्म उभिएर आन्दोलन गरेका थिए। तत्कालीन शिक्षामन्त्री सुमना श्रेष्ठले उनको माग पूरा गर्ने आश्वान दिएकी थिइन्।