काठमाडौँ- अमेरिकामा हिउँदे आँधीका कारण ३० राज्यका ६ करोड २० लाख मानिस प्रभावित भएका छ्न्। हिमपातबाट अमेरिकाको क्यान्ससदेखि इस्ट कोस्टसम्मका ३० राज्यमा बढी प्रभावित भएको बीबीसीले जनाएको छ।
केन्टकी, भर्जिनिया, वेस्ट भर्जिनिया, क्यान्सस, आर्कन्सा, मिजोरी राज्य र न्युजर्सीका कतिपय ठाउँमा संकटकाल घोषणा गरिएको छ। हिमपातका कारण हजारौँ उडान रद्द गरिएका छन्। धेरै स्कुलमा पठनपाठन बन्द भएका छन्। सडक आवागमन ठप्प भएको छ।
मौसमविज्ञ मैथ्यु कापुचीले क्यान्सस सिटीमा ३२ वर्षपछि सबैभन्दा भारी हिमपात भइरहेको बताए। उनले भने, ‘एक फिट हिमपात परेको छ।’ मिजोरी राज्यका धेरै ठाउँमा बिजुली अवरुद्ध भएको छ। क्यान्ससमा मानिसहरूलाई आफ्नो घर नछोड्न आग्रह गरिएको छ।
हिमपातबाट क्यानडाको अधिकांश क्षेत्र पनि प्रभावित भएको अमेरिकाको नेसनल वेदर सर्भिस (एनडब्ल्यूएस)ले जनाएको छ।