सिन्धुपाल्चोकमा जन्मिएका २८ वर्षीय यम शेर्पाले नेपाली फिचर फिल्म निर्देशनमा डेब्यु गरेका छन्। कान्तिपुर फिल्म एकेडेमीबाट ‘डिरेक्सन एन्ड फिल्म मेकिङ’मा डिप्लोमा सकेपछि उनले केही सर्ट फिल्म बनाए। स्क्रिप्ट लेखनतिर लागे। र अहिले फिल्म निर्देशनतर्फ लम्किएका छन्।
विद्यालय स्तरदेखि फिल्म क्षेत्रमा आउने उनको लक्ष्य प्रदर्शनको तयारीमा रहेको ‘कार्साङ्’ ले पूरा गरेको छ। अहिलेका व्यस्त कलाकार दयाहाङ राई, जितु नेपाल, बुद्धि तामाङ, दिया मास्के, सुरवीर पण्डित, रवीन्द्र झा, डेब्यु अभिनेत्री सिर्जना निङलेखु र चर्चित छायाकार पुरुषोत्तम प्रधानलाई लिएर यमले फिल्म ‘कार्साङ्’ बनाएका छन्। फिल्म शेर्पा समुदायको संस्कृतिसँगै आममानिसको भावनासँग सम्बन्धित रहेको बताउँदै उनले आएका छन्। फिल्म पुस २६ देखि नेपालसहित विश्वभर एकैसाथ प्रदर्शन हुँदैछ।
फिल्मको पोस्टर सार्वजनिकदेखि गीत र ट्रेलरसम्म आइपुग्दा उनको कामलाई दर्शकले रुचाइरहेका छन्। उनी पनि पहिलो कामबाट ‘लामो रेसको घोडा’ बन्ने विश्वासमा छन्। यिनै विषयमा केन्द्रित रहेर निर्देशक यम शेर्पासँग गरिएको कुराकानी :
फिल्मको प्रदर्शन मिति नजिकिँदै छ। प्रचारबाट कस्तो प्रतिक्रिया पाइरहनुभएको छ?
एकदमै दौडधुप भइरहेको छ। निर्माण टिमदेखि कलाकारसम्म प्रचारमा व्यस्त छौँ। हामीले अंग्रेजी नयाँ वर्षको अवसरमा ट्रेलर सार्वजनिक गर्यौँ। दर्शकले निकै मन पराउनुभएको छ। ट्रेलर नेपालसहित अन्य ८/९ देशको युट्युबको फिल्मतर्फ ट्रेन्डिङमै पर्न सफल भयो। भ्युज पनि साचेजस्तै आइरहेको छ। सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया आइरहेको छ। ट्रेलर मन पराउने दर्शक फिल्म हेरेर अझ सन्तुष्टि लिने पाउनुहुनेछ। प्रदर्शनको नजिक आइपुग्दा उत्साह कम, डर बढी लाग्ने रहेछ। नयाँ भएर पनि हुन सक्छ।
फिल्मको नामले के अर्थ बुझाउँछ? चरित्र हो कि कुनै बिम्ब?
‘कार्साङ्’ शब्द शेर्पा समुदायको संस्कारसँग सम्बन्धित छ। ‘कार्साङ्’ अर्थ सेतो हो। यसलाई क्यारेक्टर (चरित्र) पनि भन्न मिल्छ। यसले ‘गुडलक’, ‘सर्ट लाइफ’ एउटा डिजाएरजस्तो सिम्बोल (संकेत) लाई जनाएको छ। फिल्मको कथा यसैको सेरोफेरोमा तयार भएको छ।
दर्शकले यो फिल्म किन हेर्ने?
फिल्मले सिन्धुपाल्चोकस्थित यार्सा गाउँको संस्कृतिलाई सम्बोधन गरेको छ। त्यहाँको रहनसहन र मानवीय जनजीवन, विश्वासपद्धति र संस्कृतिलाई दर्शकले देख्न पाउनुहुनेछ। ह्युमन इमोसन (मानवीय भावना) भनेको प्रत्येक ठाउँका मानिससँग सम्बन्धित हुन्छ। ‘कार्साङ्’ हेरेपछि आमदर्शकले कथालाई आफूसँग कनेक्ट गर्नुहुनेछ।
अर्को कुरा फिल्ममा देखाइएको संस्कृति विश्वको कुनै ठाउँमा छैन। कथा उक्त ठाउँमा मात्र सीमित छ। कथा सिन्धुपाल्चोकको अन्य मानिसलाई पनि थाहा छैन होला। संस्कृतिले भरिपूर्ण हाम्रो देशमा हजारौँ संस्कृति लुकिरहेको हुन्छ। कुनै एउटा भूगोलको संस्कार, जीवनशैली बुझ्न र त्यहाँका मानिसको मानवीय भावना बुझ्न अनि मनोरञ्जन लिन फिल्म हेर्नुपर्छ।
फिल्मलाई शेर्पा समुदायको कथा भनेर चर्चा भइरहेको छ नि?
कथा एउटा समुदायसँग मात्र जोडिएको हुँदैन र हाम्रो कथा शेर्पाकै संस्कृतिमात्र पनि छैन। इमोसनको कुरा विश्वभरका मानिसको एकै किसिमको हुन्छ। फिल्ममा संसारमा मायाभन्दा ठुलो केही पनि होइन भन्ने एउटा बलियो सन्देश छ।
दर्शकसँग तपाईंको अपेक्षा?
अपेक्षा त धेरै छ नि! प्रदर्शनको पहिलो/दोस्रो दिनमा दर्शकहरूले फिल्म हेर्नुहुनेछ, मनोरञ्जन लिनुहुनेछ र फिल्मबारे प्रचारमा थप सहयोग गर्नुहुन्छ भन्ने ठुलो अपेक्षा छ। वर्ड अफ माउथबाट फिल्म चल्नेमा म विश्वस्त छु।
फिल्मको पोस्टर सार्वजनिक भएपछि मुख्य कलाकारको ‘क्यारेक्टर लुक्स’ चर्चामा छ। उहाँहरूसँग काम गर्दाको अनुभव?
सानैदेखि देखिरहेको कलाकार। अझ भनौँ, मनपर्ने कलाकारसँग काम गर्न पाउँदा रमाइलो हुने रहेछ। सुरुसुरुमा डरजस्तो लागेको थियो। म त फिल्मको निर्देशक! आफैँ क्याप्टेन भएको हिसाबले डर लुकाएर निर्देशकीय क्षमता देखाएँ। काम गर्दा मेरो दुई किसिमको व्यवहार देखिन्थ्यो। एउटा निर्देशक र अर्को फ्यान। यसले उत्साहित बनायो र रमाइलो पनि।
हास्य कलाकारलाई मुख्य चरित्रमा स्थापित गराउन कत्तिको सजिलो रहेछ?
त्यति असहज भएन। मैले जितु दाइलाई कथा सुनाएँ। एकदुई दिन केही प्रतिक्रिया आएन। पछि फिल्म साइन गरेपछि सुनाउनुभयो, ‘मैले गरिरहेको भन्दा फरक चरित्र थियो। हिम्मत जुटाउन दुई दिन सोचेँ। स्क्रिप्ट पढ्दै जाँदा फिल्म गर्छु भन्ने मनोविज्ञान बनेको थियो है।’ उहाँलाई क्यारेक्टरमा ढाल्न पनि त्यति गाह्रो भएन। कहिलेकाहीँ मुन्द्रे भाइब्स आउँथ्यो। उहाँको त्यो चरित्रलाई नियन्त्रण गर्न सकेको छु जस्तो लाग्छ। बोल्ने शैली, रहनसहन र पहिरनमा पनि सबै कलाकारलाई अन्य फिल्ममा भन्दा फरक भूमिकामा देख्न पाइन्छ।
चर्चित कलाकारले फिल्मका निर्देशक ओझेलमा परे भन्ने टिप्पणीप्रति तपाईँको धारणा?
यो मेरो पहिलो काम हो। फिल्म प्रदर्शन पनि भएको छैन। यसप्रति मैले अहिले धारणा बनाइहाल्नु उचित होइन। पहिले दर्शकले मेरो काम हेर्नुहुन्छ र त्यसको मूल्यांकन गर्नुहुनेछ। दर्शकले कलाकार अभिनय मन पराउनु भनेको म सफल हुनु हो।
फिल्म चल्नु र नचल्नुमा पहिलो हात निर्देशकको हुन्छ। यो भन्दा पनि पहिलो कुरा स्क्रिप्ट बलियो हुनुपर्छ। ‘कार्साङ्’ मा स्क्रिप्ट लेखक र निर्देशक आफैँ छु। फिल्मबाट दयाहाङ राई, जितु नेपाल, दिया मास्के, सिर्जना निङलेखु, बुद्धि तामाङलगायतले प्रशंसा पाउनु भनेकै मेरो काम सफल हुनु हो। मैले चर्चा पाउनु हो। त्यसकारण मलाई ओझेलमा परिन्छ भन्ने लाग्दैन।
समुदायकै कथा चलिरहँदा पहिलो निर्देशन आफ्नै कथालाई दिनुभएको हो?
यो संयोग मिलेको हो। समुदायको कथा चलिरहँदा शेर्पाको पनि कथा बनाउन त भन्ने मेरो सोच होइन। ढिलोचाँडो बन्ने नै थियो। यसलाई समय जुरेको भन्न सकिन्छ। कथा पनि शेर्पाकै भन्न मिल्दैन। त्यो दर्शकले फिल्म हेरेपछि थाहा पाउनुहुनेछ।
निर्देशनको पहिलो अनुभव कस्तो रह्यो?
पहिलो काममै नेपालको चर्चित कलाकारलाई निर्देशन गर्न पाएँ। टप क्यामेराम्यानसँग काम गर्न पाएँ। यसरी काम गर्न पाउँदा रमाइलो भयो। साथै खुसी पनि मिल्यो।
फिल्म बनाउन कति समय लाग्यो? बजेट कति हो?
एक वर्ष स्क्रिप्ट लेखन र संवादमा बितायौँ। छायांकन र अन्य कामका लागि १ वर्ष लाग्यो। फिल्मको बजेट १ करोड ४० लाखजति पुग्न सक्छ। हिसाब गरिसकेका छैनौँ।