तनहुँ- भानु नगरपालिकाले नगरका सम्पूर्ण सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको दोस्रो त्रैमासिक तलबभत्ता निकासा गरेको छ।
नगरपालिकाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकदेखि सरकारको तलबभत्ता खाने सम्पूर्ण शिक्षक-कर्मचारीको मासिक तलबभत्ता नगरपालिकाबाट सिधै सम्बन्धित शिक्षकको व्यक्तिगत बैंक खातामा ट्रान्सफर गर्ने (ईएफटी) भुक्तानी गर्ने प्रक्रिया सुरु गरिएको जनाएको छ।
सोको लागि आवश्यक पर्ने वैयक्तिक विवरण तयार गरी सम्बन्धित बैंकबाट खाता नम्बर रुजुसमेत गरी सोको विवरण र माग फाराम स्वीकृत गरी भानु नगरपालिकाको आर्थिक प्रशासन शाखामा पेस भइसकेको छ।
सोसम्बन्धी काम अघि बढाउन नगरपालिकाले प्रयोग गर्ने निकासासम्बन्धी सर्फ्टवेयरमा पोष्टिङ् गर्दा तलबभत्ता र नियमानुसार कट्टा गर्नुपर्ने संचयकोष, नागरिक लगानी कोष तथा बिमा पनि सँगसँगै पोष्टिङ् गर्नुपर्ने भएकोले तत्काल उक्त विवरण इन्ट्री गर्नको लागि कम्तिमा १०-१५ दिन लाग्ने पालिकाले जनाएको छ।
उक्त विस्तृत विवरण अद्यावधिक गरी माघ महिनादेखि तलबभत्ता र संचयकोषसमेत एकैचोटि ईएफटी गर्नेगरी हाल चालु आवको दोस्रो त्रैमासिकको तलबभत्ता सम्बन्धित विद्यालयको बैंक खातामा नै निकासा गरिएको पालिकाको भनाइ छ।