बालबालिकालाई चिसोबाट बचाउन ‘अनियन लेयरिङ’ अवधारणा

अनुषा अर्याल २२ पुष २०८१ १२:४३
282
SHARES
बालबालिकालाई चिसोबाट बचाउन ‘अनियन लेयरिङ’ अवधारणा

प्रारम्भिक बाल्यकालमा बच्चाको शारीरिक स्वास्थ्य र सहजताका लागि सही कपडा छनोट गर्नु अत्यन्त महत्त्वपूर्ण हुन्छ। बालबालिकाको शरीरको तापक्रम नियन्त्रण गर्ने क्षमता पूर्ण रूपमा विकसित  भएको हुँदैन। त्यसैले उनीहरूको शरीरलाई उचित संरक्षण दिन आवश्यक छ। सबै बच्चाहरूको शरीरको तापक्रम एउटै हुँदैन। यस्तो अवसस्थामा अनियन लेयरिङ अवधारणा थप प्रभावकारी हुन्छ।

‘अनियन लेयरिङ’ अवधारणा के हो?

‘अनियन लेयरिङ’ अवधारणाले बच्चाको शरीरमा आवश्यकताअनुसार कपडाका विभिन्न तहहरू लगाउने प्रक्रियालाई जनाउँछ। यस अवधारणामा बच्चालाई नरम र हलुका कपडाबाट सुरु गरेर आवश्यकताअनुसार हल्का र बाक्लो कपडासम्म थपिन्छ। यसले बच्चाको शरीरलाई आरामदायक र सुरक्षित बनाउँछ। साथै हावाहुरी र मौसम परिवर्तनसँग मिलाएर तिनीहरूको तापक्रम नियन्त्रण गर्न मद्दत पुर्‍याउँछ।

विशेषगरी चिसो मौसममा बच्चालाई धेरै तहमा कपडा लगाएर न्यानो राख्न सकिन्छ। अनियन लेयरिङको अभ्यासले बच्चाको संवेदनशील छाला सुरक्षित राख्छ। ठूला वा कडा कपडाले बच्चालाई असहज बनाउन सक्छ। अनियन लेयरिङले उनीहरूको गतिविधिमा कुनै अवरोध नगरी सहजता प्रदान गर्दछ।

अनियन लेयरिङ अवधारणालाई कसरी अभ्यास गर्ने?

पहिलो तह : सास फेर्न सजिलो र शरीरसँग प्रत्यक्ष सम्पर्क हुने हल्का कपडा, जस्तै कटनको बनावटको भित्री वस्त्र प्रयोग गर्नुपर्छ। यसले छाला नरम र सुरक्षित राख्छ।

दोस्रो तह : मौसम चिसो छ भने हल्का तर तातो दिने कपडा स्वेटर वा हल्का ज्याकेट लगाउन सकिन्छ।

तेस्रो तह : धेरै चिसो मौसममा बाहिरी तहमा भारी ज्याकेट, गलब्स, मफलर र टोपी लगाउनु आवश्यक हुन्छ। यसले बाहिरी वातावरणसँग प्रत्यक्ष सम्पर्कबाट शरीरलाई सुरक्षित राख्छ।

अनियन लेयरिङको महत्त्व : अनियन लेयरिङको अवधारणा बालबालिकाको कपडा लगाउने शैलीको नयाँ प्रवृत्ति होइन। हाम्रो समुदायमा परापूर्वकालदेखि प्रचलित अभ्यास हो। यसले किन महत्त्व राख्छ र यसका के फाइदा छन् भन्ने विषयमा हामी अझै पनि अनभिज्ञ छौँ। प्रारम्भिक बाल्यकालमा अनियन लेयरिङ अवधारणा बच्चाको शारीरिक स्वास्थ्यका लागि महत्त्वपूर्ण छ। हेरचाहकर्ताले यो अवधारणालाई सही तरिकाले प्रयोग गर्दा बच्चा सधैँ आरामदायक र सुरक्षित रहन्छ। अनियन लेयरिङको प्रयोगले बच्चाको शारीरिक तापक्रम सन्तुलन गर्न र चिसो मौसममा न्यानो राख्न सहयोग पुर्‍याउँछ।

चिसोबाट बच्न अपनाउन सकिने उपाय

न्यानो कपडा प्रयोग गर्न दिनुहोस्।
झोलिलो र पौष्टिक खाना खुवाउनुहोस्, जस्तै – दालको झोल वा दूध।
नियमित रूपमा बिहानी १० बजेतिरको घाममा बस्न दिनुहोस्।
पर्याप्त आराम र निद्रामा ध्यान दिनुहोस्।
बालबालिकाका लागि मनतातो पानी प्रयोग गर्नुहोस्। नवजात शिशु हो भने पर्याप्त मात्रामा स्तनपान गराउनुहोस्। कंगारू केयर, अर्थात् बच्चालाई आफ्नो शरीरमा टासेर न्यानो बनाइ राख्नुहोस्।
पास्च्युराइज दूध, सागसब्जीको झोल दिनुहोस्।
बच्चालाई बेला–बेला मनतातो पानी पिउन सम्झाउनुहोस्।
जाउलो र खिचडी खानाका रूपमा दिनुहोस्।

पोषण र हेरचाहका उपायहरू जाडो मौसमका केही फल, जस्तै सुन्तला, अम्बा, र अंगुर, भिटामिन को राम्रो स्रोत हुन्, जसले रोग प्रतिकार क्षमता बढाउँछ। यी फलफूललाई मनतातो पानीमा भिजाएर दिन सकिन्छ। यी पोषक तत्त्वहरूले बालबालिकाको शारीरिक र मानसिक विकासमा मद्दत पुर्‍याउँछन् र जाडो मौसमका स्वास्थ्य समस्याबाट बचाउँछन्। शारीरिक स्वास्थ्य बलियो रह्यो भने उनीहरूको मानसिक र सामाजिक विकास पनि प्रभावकारी हुनेछ।

अर्याल बालविकास प्रवर्द्धक हुन्। 

प्रकाशित: २२ पुष २०८१ १२:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast