भीम रावललाई झलनाथको ढाडस, एमालेप्रति गुनासो

हिमाल प्रेस २२ पुष २०८१ ८:५७
458
SHARES
भीम रावललाई झलनाथको ढाडस, एमालेप्रति गुनासो

काठमाडौँ- कुनैबेला एउटै पार्टीमा रहेर लामो समय काम रहेका नेता हुन्, झलनाथ खनाल र भीम रावल। नेकपा एमालेका नेता रहेका उनीहरू एउटै पार्टी संगठनको नेता बनेदेखि एउटै मन्त्रालयमा मन्त्री र सल्लाहकार बनेको उदाहरण पनि छ।

२०५३ सालमा लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारमा खनाल मन्त्री बनेका थिए भने उनका सल्लाहकारका रूपमा रावलले काम गरेका थिए। यद्यपि रावल खनाललाई सहयोग गर्न पार्टी निर्णयबाटै सल्लाहकार बनेका थिए। कतिपय नेता त भन्छन्, खनाल रावलकै सल्लाहमा मन्त्री बनेका थिए।

अहिले उनीहरू दुवै एमालेमा छैनन्। खनाल नेकपा एकीकृत समाजवादीमा छन् भने रावल केही समयअघि मात्रै एमालेबाट निष्कासित बनेका छन्। अबको रावलको बाटो तय भइसकेको छैन। तर रावललाई एमालेले निष्कासन गरेको विषयमा पूर्वसहकर्मी खनालले गुनासो गरेका छन्। त्यसो त रावलले ५ दसक लामो राजनीतिक काम गरेको दलबाट यसपटक बाहिरिनु परेको छ।

रावललाई निष्कासन गरेकोमा आफूलाई दुखेसो लागेको खनालले बताएका छन्। ‘वहाँ (भीम रावल)लाई नै पार्टी सदस्यबाट समेत निर्ममतापूर्वक हटाइएको छ। त्यसले गर्दा वहाँ अहिले मातृभूमि जागरण अभियान सञ्चालन गर्न थाल्नुभएको छ। मलाई सम्झी सम्झी दुःख लागेर आउँछ।’ खनालले भनेका छन्।

रावललाई निष्काशन गरेसँगै एमाले दक्षिणपन्थी अवसरवादी भड्काउमा लागेको देखिएको खनालको ठहर छ। निकट नेतालाई विज्ञप्ति पठाउँदै खनालले एमालेभित्र गुटबन्दी, नीतिहीनता, पद्धतिहीनता, अराजकता, कमिसन खोरी, भ्रष्टाचार, नैतिक पतन जस्ता अकल्पनीय विकार र विकृतिले ग्रस्त बनाएको बताएका छन्। ‘नेतृत्वमा रहेका विचलनहरूले पार्टी कार्यकर्ताहरूमा असन्तोष, विरोध र आक्रोश बढ्दै गयो। नेतृत्वले वर्ग दृष्टिकोण, वर्ग अडान र वर्ग आधारलाई छोड्दै लग्यो।’

खनालको आरोप : संसद्लाई कालिदास शैलीमा विघटन गरियो

खनालले एमालेको विकृत मानसिकताका कारण संसद् पनि कालिदास शैलीमा विघटन गरेको आरोप लगाएका छन्।

‘आफूभन्दा अग्रज नेताहरूलाई पार्टीबाट निष्कासन गरियो र एक वा अर्का घोर दक्षिणपन्थी पार्टीहरूसंग साँठगाँठ गरेर सत्ताको कुर्सी हत्याउने खेलतिर नेतृत्व लाग्यो। त्यसले पार्टीलाई नराम्ररी खुल्याउने र खुम्च्याउने काम त गर्दै नै थियो।’ खनालले भनेका छन्। एमाले वर्तमान पार्टी नेतृत्व र उसका नीतिका कारणले पार्टी गहिरो संकटतिर धसिँदै गएको खनालको ठहर छ।

यता रावललाई भने उनले ढाढस दिएका छन्। उनले ‘मातृभूमि जागरण अभियान’ सञ्चालन गर्नु सर्वथा औचित्यपूर्ण रहेको बताएका छन्। कम्युनिस्टको खोल ओडेर साम्राज्यवादको दलाली गर्नुभन्दा मात्र देशभक्तिपूर्ण अभियान लाग्नु औचित्यपूर्ण रहेको खनालले बताएका छन्।

यति भन्दै रावललाई खनालले ३ बुँदे सुझाव समेत दिएका छन्। उनले मार्कसवादले नेपाली समाजको उत्पत्ति, विकास, वर्तमान अवस्था र यसको भविष्यको बाटो देखाउँछ। मार्कसवादलाई नेपाली समाजको विकासको ऐतिहासिक प्रवाहसँग एकाकार नगरी नेपाली समाजलाई रूपान्तरण गर्नै नसकिने बताएका छन्।

उनले यतिबेला नेपाली समाज समाजवादी क्रान्ति र रूपान्तरणको युगबाट अघि बढ्दै बताएका छन्। आजको राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको गहन विश्लेषणका आधारमा यो समाजवादी क्रान्तिलाई सम्पन्न गर्न सही क्रान्तिकारी कार्यदिशा, नीति, सिद्धान्त, कार्यक्रम र रणनीति कार्यनीति लिएर अघि बढ्नु पर्ने खनालको जोड छ।

भीम रावललाई खनालका सुझाव

१. नेपालका सबैभन्दा अग्रगन्य देशभक्त भनेका सच्चा कम्युनिष्टहरू नै हुन । तर नक्कली कम्युनिष्टहरू होइनन । त्यसैले मार्क्सवाद र देशभक्तिका बीच वैज्ञानिक समन्वय आवश्यक छ ।

२. मार्क्सवादले नेपाली समाजको उत्पत्ति, विकास, वर्तमान अवस्था र यसको भविष्यको बाटो देखाउँछ । माक्र्सवादलाई नेपाली समाजको विकासको ऐतिहासिक प्रवाहसँग एकाकार नगरी नेपाली समाजलाई रूपान्तरण गर्नै सकिन्न ।

३. यतिबेला नेपाली समाज समाजवादी क्रान्ति र रूपान्तरणको युगबाट अघि बढ्दै छ । आजको राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको गहन विश्लेषणका आधारमा यो समाजवादी क्रान्तिलाई सम्पन्न गर्न सहि क्रान्तिकारी कार्यदिशा, नीति, सिद्धान्त, कार्यक्रम र रणनीति कार्यनीति लिएर अघि बढ्नु पर्छ । त्यसैले मार्क्सवाद र नेपाली क्रान्तिको प्रवाहका बीचमा एकता हुनैपर्छ ।

म आशा गर्छु, कमरेड भिम रावलले यी ३ कुरालाई पनि ध्यान दिएर अघि बढ्नु हुनेछ ।

प्रकाशित: २२ पुष २०८१ ८:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast