काठमाडौँ- झन्डै एक वर्षको अन्तरमा काठमाडौँमा सुरु भएको नेकपा माओवादी केन्द्रको बैठकमा यसअघि भन्दा गतिविधि देखा परिरहेका छन्। आइतबारबाट सुरु भएको बैठकमा लामो समय उपराष्ट्रपति बनेका नन्दबहादुर पुन पार्टी राजनीतिमा होमिने भन्दै फर्किएका छन्।
रोचक कुरा त, उनलाई उपाध्यक्षको वरीयतामा राखिएको छ तर सम्बोधन पूर्वउपराष्टरपति भनेर गरिएको छ। यस्तै, यसपटक माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारीहरूको सबै सम्पत्ति सार्वजनिक गर्न निर्देशन दिएका छन्।
उनले कार्यकर्तामाथि सम्पत्ति विवरण सार्वजनिक गर्दै क्लिन बन्न समेत निर्देशन दिएका छन्। उनले सम्पत्ति सार्वजनिक गर्न आउँदो फागुन १ सम्मको भाका राखिदिएका छन्।
‘पार्टी रुपान्तरण भनेका छौँ । केन्द्रका नेताहरूबाट नै पहिला शुद्धीकरण आवश्यक छ। पदाधिकारी तहका सबै नेताहरूको सम्पत्ति सार्वजनिक गरेर जाने प्रस्ताव ल्याउनु भएको छ, केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको पनि सम्पत्ति सार्वजनिक गर्ने भनिएको छ।’ माओवादीका एक नेताले भने।
प्रचण्डले भने : हामी र दलाल राजनीतिक दलका कार्यकर्ताबीच भेद छुट्टिएन
पार्टी बैठकमा व्यक्तिवादी प्रवृत्ति मौलाएको प्रचण्डले गुनासो गरेका थिए। उनले आफूहरू र दलाल राजनीतिक दलका कार्यकर्ताबीच फरक नछुट्टिएको बताएका थिए। प्रचण्डले दलाल वर्ग र आफूहरूबीचका भेद छुट्याउन समेत गाह्रो भएको भन्दै आफूहरु धेरै बिग्रिएको बताएका छन्।
यथास्थितीमा पार्टी अगाडि बढ्न नसक्ने जिकिर गरेका उनले पार्टी गुटबन्दीतिर जानु राम्रो नभएको समेत बताए। ‘यथास्थितीको गोलचक्करमा रुमलिएर पार्टी अगाडि बढ्न सक्दैन,’ प्रचण्डको भनाइ छ, ‘अराजकतातिर, गुटबन्दीतिर जाने कुरा राम्रो होइन।’
सरकारमा रहँदा सुशासनको पक्षमा सकरात्मक पहल गर्न खाजेको र अहिले आफूहरुका पक्षमा सकरात्मक वातावरण बनेको बताएका प्रचण्डले अब त्यसलाई संगठनको शक्तिमा बदल्नुपर्नेमा जोड दिएका छन्।