
कैलाली- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतमा राखेर काम गरिरहेको बताएका छन्। सामाजिक विकास मन्त्रालयले आज (आइतबार) धनगढीमा आयोजना गरेको प्रदेशका सबै सरकारी अस्पतालमा निःशुल्क रक्त सेवा शुभारम्भ कार्यक्रममा उनले सीमित स्रोत साधनकाबीच स्वास्थ्य क्षेत्रमा सुधारका लागि सरकारले प्रयास गरिरहेको बताएका हुन्।
मुख्यमन्त्री शाहले निःशुल्क रक्त सेवालाई प्रभावकारी बनाउँदै बढीभन्दा बढी जनता लाभान्वित हुने अवस्था बनाउने गरी लाग्न सबैलाई आग्रह गरे। सामाजिक विकासमन्त्री मेघराज खड्काले निःशुल्क रक्त सेवाले विपन्न बिरामीलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे।
मुख्यमन्त्री शाहले गत साउन २१ गते पदभार ग्रहण गर्दा प्रदेशभर निःशुल्क रगतको व्यवस्था गर्ने निर्णय गरेका थिए। सोही निर्णयको कार्यान्वयन गर्दै आइतबारबाट प्रदेशका सबै सरकारी अस्पतालमा निःशुल्क रक्त सेवा सुरु गरिएको हो।
सामाजिक विकास मन्त्रालयले नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्त सञ्चार केन्द्र धनगढीसँग सहकार्य गरी प्रदेशका सबै सरकारी अस्पतालमा निःशुल्क रगत उपलब्ध गराउने जनाएको छ। यसका लागि रक्तसञ्चार केन्द्र धनगढी, नेपाल रेडक्रस सोसाइटीका ९ वटै जिल्ला शाखा र टीकापुर उपशाखासँग मन्त्रालयले सम्झौता गरेको छ।