काठमाडौँ- नेपाली कांग्रेसका पूर्वउपसभापति एवं प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले संविधानको मूल भावना प्रतिकूल हुने गरी संविधान संशोधन गर्न नहुने बताएका छन्। आइतबार जनकपुरधाममा नेपाल प्रजातान्त्रिक सेनानी संघ मधेश प्रथम अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
निधिले संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप मजबुत पार्ने गरी संविधान संशोधन हुनुपर्नेमा जोड दिए। उनले संविधान जीवन्त दस्ताबेज भएकाले आवश्यकताअनुसार परिमार्जन गर्न सकिने उल्लेख गरे।
‘संविधान संशोधनका कुराहरू उठिरहेका छन्। जारी भएसँगै आवश्यकताअनुसार संशोधन गर्न सकिन्छ भनेर भनेका थियौँ,’ निधिले भने,‘संघीयता, गणतन्त्र र लोकतन्त्रलाई थप मजबुत पार्ने गरी संविधान संशोधन हुनुपर्छ।’
उनले संघीयताको सफल कार्यान्वयनका लागि प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिए। ‘संघीयताको मूल आधार भनेकै प्रदेशहरू हुन्। प्रदेश सरकार अधिकार सम्पन्न नहुँदासम्म संघीयता मजबुत हुन सक्दैन। प्रदेशलाई अधिकार सम्पन्न बनाउने गरी कानुन निर्माण गरिदिन संघीय सरकारसँग मेरो आग्रह छ,’ निधिले भने।
उनले संघीयताको सफल कार्यान्वयन र प्रदेश सरकारलाई बलियो बनाउन आफ्नै प्रहरी तथा निजामती कर्मचारी हुनुपर्ने दोहोर्याए।
निधिले २००७ सालको आन्दोलनदेखि २०६२/६३ को आन्दोलनसम्मको आन्दोलनमा योगदान दिने योद्धाहरूको नामावली संकलन गर्न प्रजातान्त्रिक सेनानी संघलाई आग्रह गरे।
संघका केन्द्रीय अध्यक्ष बालकृष्ण दाहालले मुलुकको प्रजातान्त्रिक तथा लोकतान्त्रिक आन्दोलनमा प्रजातान्त्रिक सेनानीहरूको महत्वपूर्ण भूमिका रहेको बताउँदै आरक्षणको व्यवस्था गर्नुपर्ने बताए।