काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेका राजनीतिक प्रतिवेदनमाथि छलफल सुरू भएको छ।
आइतबारदेखि पार्टी कार्यालय च्यासलमा सुरू भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका हुन्।
बैठकको पहिलो दिन अफिलाल ओखेडा, यज्ञ बोगटी, झपट बोहोरा, सदेश बोगटी, प्रकाश शाह, नरबहादुर धामी, झपट रावल, कमला वलीलगायतले प्रतिवेदनमाथि आफ्नो राय राखेका छन्।
उनले प्रस्तुत गरेको प्रतिवेदनमा नयाँ राजनीतिक कोर्सअन्तर्गत कांग्रेससँग भएको गठबन्धन राजनीतिक स्थायित्वका लागि भएको उल्लेख गरेका छन्।
अध्यक्ष ओलीले नयाँ सरकार गठनपछि राजनीतिक स्थायित्वको सन्देश मिलेको जिकिर गरेका छन्। त्यस्तै नेपालको परराष्ट्र नीति, स्थानीय तह उपनिर्वाचनको समीक्षा र निर्णायक राष्ट्रिय शक्तिको निर्माण आदि विषयवस्तु प्रतिवेदनमा समावेश गरेका छन्।
आइतबारको बैठकले समसामयिक प्रस्ताव तयार पार्न स्थानीय कमिटी सदस्य रघुजी पन्त, खगराज अधिकारी र राजेन्द्र गौतम सम्मलित मस्यौदा कमिटी गठन गरेको छ।
त्यस्तै बैठकले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकयता पोलिटब्युरो र केन्द्रीय सचिवालय बैठकबाट निर्णयहरू सर्वसम्मतिले अनुमोदन गरेको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।