पत्रकार साहलाई धम्की दिनु गलत : मन्त्री प्रमोद जयसवाल

हिमाल प्रेस २१ पुष २०८१ १८:५९
14
SHARES
पत्रकार साहलाई धम्की दिनु गलत : मन्त्री प्रमोद जयसवाल मधेश प्रदेशका खेलकुद तथा समाजकल्याणमन्त्री प्रमोद जयसवाल

काठमाडौँ- मधेश प्रदेशका खेलकुद तथा समाजकल्याणमन्त्री प्रमोद जयसवालले वीरगन्जका पत्रकार जियालाल साहमाथि धम्की दिनु गलत रहेको बताएका छन्। मन्त्री जयसवालले आइतबार वीरगन्जमा पत्रकार सम्मेलन गर्दै पत्रकारलाई धम्की दिएर गल्ती गरेको बताएका हुन्।

उनले भने, ‘पत्रकारलाई धम्की दिनु गलत यो। शुभचिन्तकहरूलाई पत्रकारलाई धम्की नदिन र तत्काल सच्याउन लगाएको छु।’ उनले गल्ती गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्ने  दोषी देखिए आफू कारबाही भोग्न तयार रहेको पनि बताए। उनले पत्रकारलाई धम्की दिएर पुगेको चोटप्रति माफी मागेका छन्। उनले भने, ‘हामी गलत नहुँदानहुँदै पनि तपाईँलाई पुगेको चोटप्रति माफी माग्न चाहन्छु।’ उनले आफ्ना बारेमा भ्रामक समाचार लेखेर चरित्रहत्या गर्ने काम भएको गुनासो गरे। मन्त्री जयसवालले आफूले अदालतबाट सफाइ पाए पनि समाचारमा अभियुक्त भनेका कारण दुःख लागेको बताए।

साहले पुस १८ गते काठमाडौँबाट प्रकाशित हुने एउटा अनलाइन न्युज पोर्टलमा ‘आपराधिक पृष्ठभूमिका जयसवाल दाजुभाइलाई ओलीबाटै एमालेमा भव्य स्वागत, मधेशका एमालेमा त्रास’ शीर्षकको समाचार लेखेका थिए। उक्त समाचारलाई लिएर एमाले कार्यकर्ताले धम्की दिएको साहले बताए। उनले भने, ‘समाचारको विषयलाई लिएर एमालेका कार्यकर्ता कार्यकर्ता वीरेन्द्र पटेल र निखिलराज गिरीले मलाई फोन र सामाजिक सञ्जालमार्फत अभद्र व्यवहार गर्ने धम्की दिएका थिए। मेरो फोटो सामाजिक सञ्जालमा पोस्ट गर्दै जहाँ भेट्यो त्यही कालोमोसो दल्ने धम्की दिए।’

साहलाई दिएको धम्कीप्रति आपत्ति जनाउँदै पत्रकार महासंघ पर्सा जिल्ला समिति र मधेश प्रदेशकार्य समिति र केन्द्रीय समितिले आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न माग गरेका छन्। ‘समाचार लेखेको बहानामा पत्रकार साहविरुद्ध सामाजिक सञ्जालमा फोटो राखेर धम्कीपूर्ण स्टाटस लेख्नु लेख्न लगाउनु आपत्तिजनक छ,’ महासंघको पर्सा शाखाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिक देखि राज्यका निकायहरूले सञ्चारकर्मीप्रति देखाइरहेको बदनियतपूर्ण व्यवहारलाई महासंघले नजिकबाट नियालिरहेको छ।’

नेपाल पत्रकार समहासंघ मधेश प्रादेशिक कार्य समितिले समाचार लेखेको निहुँमा पत्रकार साहलाई धम्की दिने कार्यको निन्दा गरेको छ। समितिले विज्ञप्ति जारी गरी भनेको छ, ‘समाचारमा असहमति भए कानुनी उपचारका विधि र प्रक्रिया हुँदाहुँदै धम्की दिनु, चरित्र हत्या गर्नु जस्ता कार्य प्रेस स्वतन्त्रता र पत्रकारको पेसागत मर्यादामाथि गम्भीर आक्रमण हो।’

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले पनि पत्रकार साहलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत दिइएको धम्कीप्रति ध्यानाकर्षण भएको जनाएको छ। महासंघका महासचिव रामप्रसाद दाहालले विज्ञप्तिमार्फत भनेका छन्, ‘सामाजिक सञ्जालमा विचार अभिव्यक्त गर्नु र टीकाटिप्पणी हुनु व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता हो। अभिव्यक्ति स्वतन्त्रताको नाममा पत्रकारलाई असुरक्षित गराउने र चरित्रमा ठेस पुर्‍याउने क्रियाकलाप हुनु अत्यन्त निन्दनीय र सामाजिक अपराध हो।’

ओलीले एमाले प्रवेश गराएका प्रमोद जयसवाल र प्रदीप जयसवाल दाजुभाइ हुन्। प्रमोद ज्यान मार्ने उद्योगको मुद्दा खेपिरहेका थिए। उनले आइतबार मात्र पर्सा जिल्ला अदालतबाट सफाइ पाएका छन्। पत्रकार साहका अनुसार प्रदीपले वन्यजन्तु चोरी सिकारमा मुछिएर कही समयअघि सफाइ पाएका थिए।

प्रकाशित: २१ पुष २०८१ १८:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast