काठमाडौँ- ‘जय ट्रफी मेन्स एलिट कप’ क्रिकेट आइतबारदेखि सुरू भएको छ। जनकपुरको रामजानकी अन्तर्राष्ट्रिय रंगशाला र वीरगञ्जको नारायणी क्रिकेट मैदानमा जय ट्रफी सुरू भएको हो। टेस्ट क्रिकेटको शैलीमा भइरहेको जय ट्रफीअन्तर्गतको पहिलो दिनको खेलमा कुनै पनि टिमले सन्तोषजनक प्रदर्शन गर्न सकेका छैनन्।
जनकपुरमा मधेश प्रदेश र बागमती प्रदेश तथा वीरगञ्जमा नेपाल प्रहरी कल्ब र त्रिभुवन आर्मी क्लबबीच पहिलो दिनको खेल भएको हो।
रामजानकी रंगशालामा टस जितेर ब्याटिङ रोजेको मधेश प्रदेशले पहिलो इनिङमा सबै विकेट गुमाएर जम्मा १०२ रन बनाउनसक्यो। मधेशका लागि मयन यादवले सर्वाधिक २१ रन बनाए। कप्तान हरिशंकर साहसँग ओपनिङका लागि आएका उनले ३६ बलको सामना गरे।
१८ बल सामना गरेको हरिशंकर चार रन बनाएर आउट भए। त्यस्तै निरज यादवले १२, साहिल पटेलले ६, हिमान्सु दत्तले १०, रुपेश सिंहले ६, विशाल पटेलले १६, अभिषेक तिवारीले ११ र प्रदीप पासवानले २ रन बनाए।
बागमती प्रदेशका लागि कप्तान सन्दीप लामिछानेले पाँच विकेट लिए। त्यस्तै सूर्य तामाङले तीन विकेट लिँदा रिजन दाहाल र प्रतिश जीसीले १–१ विकेट लिए।
पहिलो इनिङमा १०२ रन पछ्याएको बागमती प्रदेश पहिलो दिनको खेल सकिँदासम्म २ विकेटको क्षतिमा ३४ रन बनाएको छ। ओपनर अशुतोष घिरैया शून्य र रित गौतम ३ रन बनाएर आउट भए।
इशान पाण्डे ९ र शुभ कन्सकार २२ रन बनाएर नटआउट छन्। दोस्रो दिनको खेल सकिँदासम्म बागमती प्रदेश ६८ रनले पछाडि रहेको छ।
त्यस्तै वीरगञ्जमा पहिलो इनिङमा ब्याटिङ गरेको त्रिभुवन आर्मी क्लब नेपाल प्रहरी क्लबका स्पीन बलर ललित राजवंशीसामू निरीह बन्यो। ललितले पहिलो इनिङमा सात विकेट लिए।
त्रिभुवन आर्मी क्लबका लागि कुशल मल्लले सर्वाधिक २५ रन बनाए। त्यस्तै भीम सार्कीले २२, बसिर अहमदले १२, विनोद भण्डारीले २१, सोमपाल कामीले ५ र सन्तोष कार्कीले १ रन बनाए।
नेपाल प्रहरी क्लबका लागि ललितले सात विकेट लिँदा कुशल भुर्तेल, श्रवण यादव र रासिद खानले १–१ विकेट लिए।
पहिलो इनिङमा १२१ रन पछ्याएको नेपाल प्रहरी क्लब पहिलो दिनको खेल सकिँदासम्म ७ विकेटमा १०३ रन बनाएको छ। प्रेम तामाङ १ रन बनाएर नटआउट छन्। नेपाल प्रहरी क्लब पहिलो इनिङमा १८ रनले पछाडि छ।
नेपाल प्रहरी क्लबका दुवै ओपनर कुशल भुर्तेल र अर्जुन साउद शून्य रनमा आउट भए। नेपाल प्रहरीका लागि गुलशन झाले सर्वाधिक ३४ रन बनाए। ३६ बल सामना गरेका उनले तीन छक्का र एक चौका प्रहार गरे।
त्यस्तै अमित श्रेष्ठ १८, दिलिप नाथ १०, आरिफ शेख ४, रासिद खान १६ र शंकर रानाले १३ रन जोडे। नेपाल आर्मीका लागि साहब आलमले ५ विकेट लिए। त्यस्तै सोमपाल कामी र पवन कार्कीले १–१ विकेट लिए।