काठमाडौँ– नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ७ दल सम्मिलित सरकार बनेको ६ महिनामा मुलुकमा राजनीतिक स्थायित्वलगायतका विभिन्न उपलब्धि र नीतिगत सुधार गरेको दाबी गरेको छ। एमाले अध्यक्ष ओलीले आइतबार सुरु भएको पार्टी केन्द्रीय समिति बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा यस्तो दाबी गरिएको हो।
प्रतिवेदनमा ‘प्रधानमन्त्रीले शपथ ग्रहण गरेकै दिन (असार ३१ गते) मन्त्रिपरिषद्लाई पूर्णता दिएर सत्ता सहयात्रीहरू बीच रहेको बलियो विश्वास, समझदारी र जिम्मेवारीबोधलाई प्रदर्शित गरेको’ उल्लेख छ।
प्रतिवेदनमा उल्लेख छ, ‘कांग्रेस र एमालेबीच भएको सात बुँदे सहमतिलाई प्रभावकारी कार्यान्वयन गर्न र दुई दल बिच दिगो विश्वासको वातावरण निर्माण गर्न प्रधानमन्त्रीका तर्फबाट उक्त सहमति औपचारिक रूपमा सदनमा प्रस्तुत गरिएको छ र त्यो अभिलिखित भएको छ।’ दलहरूबीच सहमति हुने तर त्यसको आफूखुसी व्याख्या गर्दै दाउपेच र निजी स्वार्थमा दुरुपयोग गर्ने गलत परम्परा तोड्ने र राजनीतिलाई पारस्परिक विश्वास, पारदर्शिता र इमानको जगमा सञ्चालन गर्ने सन्दर्भमा यसलाई एमालेले महत्त्वपूर्ण पाइलाका रूपमा लिएको छ।
यसैगरी एमालेले दुई दलका प्रतिनिधि सम्मिलित कार्यदलले तयार गरेको सरकारको साझा संकल्प तथा नीतिगत प्रतिबद्धतामा राष्ट्रिय हितको रक्षा तथा स्वतन्त्र, असंलग्न र सन्तुलित परराष्ट्र नीति, संविधानको रक्षा, कार्यान्वयन र संशोधन, सुशासन र गुणस्तरीय सेवा प्रवाह, अर्थतन्त्रमा गतिशीलता, विकास, युवा साझेदारी, संक्रमणकालीन न्याय र सामाजिक सद्भाव तथा विविध गरी ८ वटा शीर्षकमा सरकार सञ्चालनका नीतिगत आधार, कार्यक्रमिक प्राथमिकता र संकल्प स्पष्ट पारिएको उल्लेख गरेको छ।
एमालेले सरकार सञ्चालनमा सहजीकरणका लागि आवश्यक संरचना निर्माण गरिएको जनाएको छ। सरकार सञ्चालनमा सहजीकरण गर्न तथा आवश्यक सुझाव दिन दुई दल बिच ५/५ जना नेताहरू रहनुभएको राजनीतिक संयन्त्र निर्माण र नियमित सञ्चालन गरिएको ओलीको राजनीतिक प्रतिवेदनमा उल्लेछ। त्यसै गरी त्यसअन्तर्गत आलोपालो नेतृत्वमा रहने गरी दुवै दलका ४/४ सदस्य रहेका कार्यदल नियमित सञ्चालनमा रहेको प्रतिवेदनमा उल्लेख छ।
एमाले नेतृत्वमा सरकार सञ्चालन भएपछि अर्थतन्त्रमा क्रमशः सुधार हुँदै आएको दाबी प्रतिवेदनमा गरिएको छ। ‘राजनीतिक स्थायित्वको सन्देश र बलियो सरकारको गठनसँगै निजी क्षेत्रमा विश्वास अभिवृद्धि भएको छ। वर्तमान सरकारले अर्थतन्त्रलाई ओह्रालो लाग्नबाट रोकेर क्रमशः सकारात्मक दिशामा अगाडि बढाएको छ। पुँजीबजारमा सकारात्मक सुधार हुँदै आएको छ’, एमालेको प्रतिवेदनमा उल्लेख छ। विश्वव्यापी रुपमा नेपाल लगानीका लागि अनुकूल मुलुक हो भन्ने सन्देश गएको दाबी पनि एमालेको छ।
एमालेले संक्रमणकालीन न्यायका सम्बन्धमा पनि उपलब्धिमूलक काम भएको दाबी गरेको छ। ‘लामो समयदेखि उपेक्षामा परेको र राजनीतिक दाउपेचको विषय बनेको सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित ‘वेपत्ता पारिएकाव्यक्तिहरूको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकु लाई संसदबाट सर्वसम्मत रुपमा पारित गरिएको छ’, प्रतिवेदनमा उल्लेख छ।
यसैगरी विगत केही समययता खल्बलिएको, असन्तुलित रहेको र कमजोर अवस्थामा पुऱ्याइएको बाह्य सम्बन्धलाई सरकारले सन्तुलनमा ल्याउन र राष्ट्रिय हितको रक्षा एवं स्वाभिमान अभिवृद्धिका लागि सरकारले केही महत्त्वपूर्ण काम आरम्भ गरेको एमालेले प्रतिवेदनमा उल्लेख गरेको छ।
सहकारी क्षेत्रको बेथितिमा हस्तक्षेप, बचतकर्तालाई न्याय र अनियमिततामा संलग्नलाई सजाय प्रक्रिया सुरु गरिएको ओलीले पेस गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ। संसदीय छानबिन समितिले किटान गरेका समेत विभिन्न ५ सय भन्दा बढी व्यक्ति थुनामा परेको र हजारभन्दा बढी विरुद्ध मुद्दा चलाइएको एमालेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
एमालेले ओली नेतृत्वको सरकार गठन भएपछि विकास निर्माणले गति लिएको दाबी गरेको छ। ऊर्जाको क्षेत्रीय व्यापार सुरु भएको, भैरहवा विमानस्थलबाट विदेशी एयरलाइन्सहरूको उडान सुरु भएको जस्ता विषयलाई एमालेले प्रतिवेदनमा समेटेको छ। एमालेको प्रतिवेदनमा माओवादी अध्यक्ष प्रचण्डमाथि संसदीय मूल्यमान्यताको उपहास गरेको, अस्थिर र अवसरवादी चरित्र देखाएको तथा सत्तालिप्साको कुरुप तस्बिर देखाएको लगायतका आरोप लगाइएको छ।