काठमाडौँ- पाकिस्तानको बलुचिस्तानको केछ जिल्लामा बसमाथि भएको आक्रमणमा परी चार जनाको मृत्यु भएको छ। इरानको सीमानजिक रहेको केछ जिल्लामा बसमाथि आत्मघाती आक्रमण भएको हो।
बलुचिस्तान सरकारका प्रवक्ता शाहिद रन्दले आक्रमणको पुष्टि गर्दै घटनामा क्राइम ब्रान्चका एसएसपी जोहैब मोहसिन घाइते भएको बताएको बीबीसीले जनाएको छ।
प्रहरी अधिकारीहरूका अनुसार मृतकमा सुरक्षाकर्मी पनि रहेका छन्। घटनामा २५ जना घाइते भएका छन्।
प्रहरी अधिकारीहरूले यो आत्मघाती आक्रमण रहेको बताएका छन्। बलोच लिबरेश आर्मी (बीएलए) ले आत्मघाती आक्रमणको जिम्मेबारी लिएका छन्।
आफूहरूले पाकिस्तानी सेनाको लश्करलाई निशाना बनाएको बीएलएले दाबी गरेको छ। यद्यपि पाकिस्तानी सेनाले यसबारे आधिकारिक प्रतिक्रिया दिएको छैन।
पाकिस्तानका केन्द्रीय गृहमन्त्री मोहसिन नकवीले आक्रमणको निन्दा गरेका छन्।