काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय समिति बैठक काठमाडौँमा सुरु भएको छ। बैठकमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पनि सहभागी भएका छन्। यसअघि पुन स्थायी समिति बैठकमा पनि सहभागी भएका थिए।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प : आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यतालिका छ।
त्यसपछि प्रतिवेदनमाथि छलफल हुने प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए। यसअघि बिहान बसेको स्थायी समिति बैठकमा केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गर्ने राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि छलफल भएको थियो।
केन्द्रीय समिति बैठकमा ४ सय ९ पूर्ण केन्द्रीय सदस्य, २ सय ५ वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगबाट ७५ तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका पदाधिकारी गरी १ सय २५ जना गरी ८ सय १४ जनाको सहभागी छन्।