विरोधीका आरोप खण्डन गर्न ओलीको निर्देशन

हिमाल प्रेस २१ पुष २०८१ १३:५९
14
SHARES
विरोधीका आरोप खण्डन गर्न ओलीको निर्देशन एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली।

काठमाडौँ- प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभक्त, प्रगतिशील र जनवादी शक्ति एकजुट भएकाले प्रतिक्रियावादीहरु आतंकित भएको दाबी गरेका छन्। एमाले केन्द्रीय कमिटीको आठौँ बैठकलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिक्रियावादीहरु एमालेविरुद्ध झुठा प्रचारमा लागेका टिप्पणी गरेका हुन्।

एमालेको लोकप्रियता देखेर त्यसलाई क्षीण पार्ने तथा एमालेलाई बदनाम गर्न विरोधीहरू लागेको भनाइ ओलीको छ। अध्यक्ष ओलीले एकताबद्ध भई झुठा प्रचार चिरेर पार्टीलाई निर्णायक शक्ति बनाउन जनस्तरमा लाग्न पार्टीका सबैलाई निर्देशन दिएका छन्।

‘हामी विरोधीका आरोपमाथि चुप लागेर बस्नु हुँदैन। चुप लागेर बस्नुपर्छ भन्ने कमजोर धारणा हो। विरोधीका आरोपबारे तथ्यका आधारमा खण्डन गर्नुपर्छ। हाम्रा सबै संगठनहरु उत्साहित भएर व्यक्ति–व्यक्ति र घरघरमा पुग्नुपर्छ। वैचारिक कामलाई उत्तिकै महत्त्व दिनुपर्छ’, ओलीले भने, ‘पार्टीभित्र गुटबन्दी र अराजकता अन्त्य गर्नैपर्छ। लोकतन्त्रका नाममा पार्टीभित्र गुटबन्दी गरेर भाँडभैलो मच्चाउने कार्यले पार्टीलाई बलियो बनाउँदैन। बहकाउमा लागेर होइन, एउटै नीतिमा अडिग भएर पार्टी र देशको स्वार्थलाई केन्द्रमा राखेर हामी अगाडि बढ्नुपर्छ।’

पार्टीका आन्तरिक विषय सार्वजनिक खपतका लागि प्रस्तुत नगर्न आग्रह गर्दै अध्यक्ष ओलीले पार्टीलाई विभाजन गरेर वा सिध्याइयो भनेर खुसी मनाउ गर्नेहरु पश्चाताप गरिरहेको टिप्पणी गरे।।

बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा नयाँ राजनीतिक मार्गचित्र, एमाले र नेपाली कांग्रेससँगको गठनबन्धनको आवश्यकता, औचित्य र अवसर, वर्तमान गठनबन्धनपछिका छ महिना, बदलिँदो विश्व परिवेश र मुलुकको पराराष्ट्र नीति, स्थानीय तह उपनिर्वाचनको समीक्षा र निर्णायक राष्ट्रिय शक्तिको निर्माण जस्ता विषय समेटिएका छन्।

ओलीले नयाँ सरकार गठनपछि राजनीतिक स्थायित्वको सन्देश प्रवाह भएको, साझा नीतिगत प्रतिबद्धता र संकल्प जारी भएको, सरकार सञ्चालनमा सहजीकरणका लागि आवश्यक संरचना बनाइएको, अर्थतन्त्रमा सुधार आएको, संक्रमणकालीन न्यायसम्बन्धी कानुन पारित भएको, राष्ट्रियहितको रक्षा र सन्तुलित बाह्य सम्बन्ध कायम गरिएको, सहकारी क्षेत्रको बेथिति अन्त्यगरी बचतकर्तालाई न्याय तथा अनियमिततामा संलग्नलाई सजाय गरिएको र विकास–निर्माणले गति लिएको मुख्य जानकारी गराएका छन्।

बैठकमा राजनीतिक प्रतिवेदनका साथै सांगठनिक कामको जानकारी, वैशाखमा भएको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकपछिका केन्द्रीय सचिवालय र पोलिटब्युरो बैठकका निर्णयबारे जानकारी, केन्द्रीय आयोगका अध्यक्षहरुको सम्बोधन र समसामयिक विषयमा महासचिव शंकर पोखरेलले बैठकमा जानकारी गराएका छन्।

बैठकले पोलिटब्युरो सदस्य सूर्यबहादुर थापाको संयोजकत्वमा केन्द्रीय सदस्यहरु निरज आचार्य र विष्णु रिजाल रहेको ‘बहस नोट कमिटी’ तथा केन्द्रीय प्रचार विभागका प्रमुख राजेन्द्र गौतमको संयोजकत्वमा स्थायी कमिटी सदस्यहरु रघुजी पन्त र खगराज अधिकारी रहेको समसामयिक प्रस्ताव समिति गठन गरेको छ।

प्रकाशित: २१ पुष २०८१ १३:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast