काठमाडौँ- नेकपा एमालेको केन्द्रीय कमिटीको आठौँ बैठक आइतबार सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको बैठकमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका छन्।
अध्यक्ष ओलीले पछिल्लो राष्ट्रिय राजनीतिक परिस्थितिका बारेमा मन्तव्य राखेका हुन्। ओलीले आगामी कार्ययोजना, पार्टी संगठन सुदृढीकरण, वर्तमान सरकार गठन, यसअघिका सरकारमा साझेदारी, सरकारका प्राथमिकता, संविधान संशोधन, आर्थिक सुधार, सहकारीलगायत विषय समेटिएको राजनीतिक प्रतिवेदन पेस गरेका हुन्।
यसअघि प्रतिवेदनमाथि समूहगत छलफल हुने गरेकामा यसपटक भने प्रत्येक केन्द्रीय सदस्यलाई बेग्लाबेग्लै धारणा राख्ने व्यवस्था मिलाइएको पार्टी उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए। प्रत्येक सदस्यलाई करिब तीन मिनेटको समय उपलब्ध गराउने तयारी गरिएको छ। बैठकमा केन्द्रीय सदस्य र आयोगका प्रमुखलगायत सहभागी छन्। पुस १८ गते एमाले सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन पारित गरेको थियो ।
अध्यक्ष ओली नेतृत्वमा सरकार गठन भएपछि पहिलो पटक केन्द्रीय समिति बैठक बसेको हो।