पोखरा- पर्वत सदरमुकाम कुश्मामा ग्यास लिई भई आगलागी हुँदा १ जनाको मृत्यु भएको छ। घटनामा अन्य २ जना घाइते भएका छन्। तीमध्ये एक जनाको अवस्था गम्भीर छ। घटनामा ७५ वर्षीया दुर्गादेवी पौडेलको मृत्यु भएको हो।
कुश्मा नगरपालिका–१० पीपलटारी रोहोटेका ध्रुव रेग्मीले आइतबार बिहान दूध तताउने क्रममा ग्यासको रेगुलेटर लिक भएर आगलागी भएको थियो। ५२ वर्षीय रेग्मीले भान्छा कोठामा दूध तताइरहेका बेला छिमेकी ७५ वर्षीया दुर्गादेवी पौडेल दूध लिन भनी प्रवेश गरेकी थिइन्। त्यसपछि एक्कासि रेगुलेटर लिग भई आगलागी हुँदा दुवैजनालाई आगोले पोलेको प्रत्यक्षदर्शीलाई उधृत गर्दै पर्वत प्रहरीले जनाएको छ। घटनाको खबरपछि प्रहरी टोली घरमा पुगेको थियो।
दुर्गादेवीको घटनास्थलमै मृत्यु भएको र घाइते ध्रुवलाई अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन विष्टले बताए। आगलागी भएपछि उद्धार गर्ने क्रममा ध्रुवकी श्रीमती ४३ वर्षीया तिला रेग्मीको दुवै खुट्टा पोलेको छ। उनको जिल्ला अस्पताल पर्वतमा उपचार भइरहेको छ।
गम्भीर घाइते ध्रुवको शरीरका विभिन्न भागमा पोलेको छ। उनलाई जिल्ला अस्पताल पर्वतबाट थप उपचारार्थ पोखरास्थित मणिपाल शिक्षण अस्पताल रेफर गरिएको छ।
घटनामा कच्ची घरका दुवै कोठामा रहेका सामान जलेर नष्ट भएका छन्। उद्धारका लागि जिल्ला प्रहरी कार्यालयबाट डीएसपी विष्टको कमान्डमा १५ जना र प्रहरी चौकी ठूलीपोखरीबाट प्रहरी सहायक निरीक्षक सुजितप्रसाद शाहको कमान्डमा २ जनाको टोली घटनास्थल पुगेको थियो।