रुसको श्रम स्वीकृति खुलाउन एनआरएनएको दबाब

हिमाल प्रेस २१ पुष २०८१ १३:२६
12
SHARES
रुसको श्रम स्वीकृति खुलाउन एनआरएनएको दबाब श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्‌सिंह भण्डारीलाई ज्ञापनपत्र बुझाउँदै एनआरएनएको टोली।

काठमाडौँ- गैरआवासीय नेपाली संघ (एनआरएनए) ले रुसको श्रम स्वीकृति खुलाउन दबाब दिएको छ। एनआरएनएले रुस र चेक रिपब्लिकको श्रम स्वीकृति खुलाउन प्रधानमन्त्री कार्यालय, परराष्ट्र र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई  दबाब दिएको छ। यसबारेमा एनआरएनएका अध्यक्ष डा. बद्री केसीले श्रम, रोजगार तथा सामाजिक सुरक्षीमन्त्री शुक्रबार शरत्‌सिंह  भण्डारीलाई  ज्ञापनपत्र बुझाएका हुन्।

रुस र चेक रिपब्लिकमा श्रम स्वीकृति रोकिएका विषयमा प्रधानमन्त्री कार्यालय र सम्बन्धित मन्त्रालयलाई ध्यानाकर्षण गराएको एनआरएनए अध्यक्ष केसीले जानकारी दिए। ‘रुस र चेक रिपब्लिकको श्रम स्वीकृति रोकिँदा हजारौँ नेपालीका लागि असहज अवस्था उत्पन्न भएको छ। यसकै कारण त्यहाँको रोजगारीसमेत गुमेको छ। नयाँ श्रम स्वीकृति तथा भिसा नवीकरण तत्काल  खुलाउन माग गरिएको हो’, उनले भने।

एनआरएनएले इराकको कुर्दिस्तानमा रहेका नेपालीको समस्या समाधान गर्नसमेत सरकारको ध्यानकर्षण गराएको छ।  केसीका अनुसार कुर्दिस्तानमा केही महिनादेखि नेपाली अलपत्र अवस्थामा छन्।

रुस-युक्रेन युद्धपछि नेपालले गत वर्ष पुसमा रुसका लागि श्रम स्वीकृति बन्द गरेको थियो। नेपालबाट श्रम स्वीकृति बन्द भए पनि यूएई, भारत, कतार र युरोपका देश हुँदै रुसी सेनामा नेपाली युवा भर्ती भइरहेका छन्।

श्रममन्त्री भण्डारीले भने  युद्धग्रस्त देशको श्रम स्वीकृति खुलाउन विषयलाई सामान्य रूपमा लिन नहुने बताएका थिए। ‘रुस-युक्रेन युद्ध जारी छ। त्यही भएर त्यहाँको श्रम स्वीकृति खुलाउने विषयमा गम्भीर भएर सोच्नुपर्छ। अहिले यस विषयमा छलफल आवश्यक छ’, मन्त्री भण्डारीले संघको टोलीसँग भनेका थिए।

गत साता रुसका लागि नवनियुक्त राजदूत डा. जंगबहादुर चौहान र संघका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउतबीच रुसको श्रम स्वीकृति खुलाउने विषयमा छलफल भएको थियो।

रुसी सेनामा कार्यरत नेपालीमध्ये हालसम्म ४९ जनाको मृत्यु पुष्टि भएको कन्सुलर सेवा विभागले जनाएको छ। पीडित परिवारले भने ५४ को मृत्यु र ३ सय ७९ जना बेपत्ता भएको निवेदन दिएको विभागले जानकारी दिएको छ। परराष्ट्र मन्त्रालयले हालसम्म ४९ को मृत्यु भएको र ६ जनाको मृत्यु पुष्टि हुन बाँकी रहेको जनाएको छ। रुसी सेनामा कार्यरतमध्ये २ सय ११ जना नेपाली स्वदेश फर्किएको र ३ सयभन्दा फर्किने क्रममा छन्।

परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले  रुसी सेनामा कति नेपाली कार्यरत छन् भन्ने यकिन तथ्यांक नभएको बताए। रुसी सेनामा कति नेपाली कार्यरत छन् भनेर परराष्ट्र मन्त्रालयले गत वर्ष तथ्यांक मागे पनि रुसले उपलब्ध गराएको छैन। परराष्ट्र मन्त्रालयले एक वर्षमा पाँच पटकभन्दा बढी रुसी सेनामा भर्ती भएका नेपालीको तथ्यांक मागेको छ। रुसले अहिलेसम्म यसको जवाफ नफर्काएको परराष्ट्र मन्त्रायका उच्च अधिकारीहरू बताउँछन्। रुसी सेनामा पाँचदेखि सात हजार नेपाली कार्यरत रहेको परराष्ट्र मन्त्रालयको अनुमान छ।

प्रकाशित: २१ पुष २०८१ १३:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast