काठमाडौँ- नेपालका एकतिहाईभन्दा बढी विमानस्थल सञ्चालनमा नरहेको पाइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को सन् २०२४ को वार्षिक प्रतिवेदनअनुसार कुल ५५ विमानस्थल (तीन अन्तर्राष्ट्रिय र ५२ आन्तरिक विमानस्थल) मध्ये २० वटा विमानस्थल सञ्चालनमा छैनन्।
सञ्चालनमा नरहेका विमानस्थलमा बागलुङ, चौरजहारी, दार्चुला, ढोरपाटन, पालुङटार, जिरी, कालिकोट छन्। यसैगरी कमलजार, काँगेलडाँडा, खिजी चण्डेश्वरी, लाङटाङ, लामिडाँडा, महेन्द्रनगर, मनाङ, मसिनेचौर, मेघौली, रोल्पा, रुम्जाटार, स्याङबोचे र टीकापुर विमानस्थलबाट पनि हवाईजहाज उडान हुँदैनन्।
छन्। सम्बन्धित स्थानीय सरकार र उद्योग वाणिज्य संघहरूले एयरलाइन्स कम्पनीलाई केही सिटको आम्दानी सुनिश्चित गर्नेलगायतका प्रयास गरे पनि यी विमानस्थल सञ्चालनमा आउन नसकेका हुन्।
प्राधिकरणका अनुसार देशका ५२ आन्तरिक विमानस्थलमध्ये तीनवटाले हब विमानस्थलका रूपमा आआफ्नो क्षेत्रका दुर्गम विमानस्थलमा उडान सञ्चालन गर्दै आएका छन्। यी विमानस्थलमा विराटनगर विमानस्थल, नेपालगन्ज विमानस्थल र धनगढी विमानस्थल हुन्।
५२ घरेलु विमानस्थलमध्ये ४१ वटा छोटो दुरीमा जहाज उड्न र अवतरण गर्न मिल्ने विमानस्थल छन्। यी विमानस्थल मुख्यतया पहाडी र हिमाली क्षेत्रमा छन्। ४२ वटा आन्तरिक विमानस्थल पक्की छन्। १० वटा विमानस्थलमा रात्रिकालीन उडान सम्भव छ। तीन अन्तर्राष्ट्रिय विमानस्थलका साथै विराटनगर, चन्द्रगढी, धनगढी, जनकपुर, नेपालगन्ज, सिमरा र राजविराजमा रात्रिकालीन उडान सम्भव छ।
देशका तीन अन्तर्राष्ट्रिय विमानस्थलमध्ये दुई (गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल) ले उडान आकर्षित गर्न संघर्ष गरिरहेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२३ मा देशकै व्यस्त विमानस्थल रह्यो। विमानस्थलले गत वर्ष १२ अर्ब ८६ करोड रुपैयाँ आम्दानी गरेको थियो।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले झन्डै ३५ करोड रुपैयाँको आम्दानी गर्यो। जसमध्ये अधिकांश आन्तरिक उडानबाट प्राप्त भएको थियो किनकि सन् २०२३ को जनवरी १ मा उद्घाटन भएयता कुनै पनि अन्तर्राष्ट्रिय व्यावसायिक उडान भएका छैनन्।
त्यसैगरी भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले सन् २०२३ मा २१ करोड १३ लाख ९० हजार रुपैयाँ आम्दानी गरेको प्रतिवेदनमा उल्लेख छ। जसमध्ये अधिकांश घरेलु उडानबाट प्राप्त भएको थियो।
गौतम बुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वारका रूपमा रहेको यो विमानस्थलले कतार एयरवेज, एयर एसिया थाइल्यान्ड, जजिरा एयरवेज र फ्लाई दुबईजस्ता केही अन्तर्राष्ट्रिय एयरलाइन्सलाई आकर्षित गरे पनि यी उडान नियमित हुन सकेका छैनन्।
सगरमाथा क्षेत्रको प्रवेशद्वार लुक्ला विमानस्थलले सबैभन्दा बढी ६ करोड २३ लाख ३० हजार रुपैयाँ आम्दानी गर्यो। त्यसपछि रामेछाप र सिमिकोट विमानस्थलले क्रमशः एक करोड ४१ लाख २० हजार रुपैयाँ र ७६ लाख ४० हजार रुपैयाँ आम्दानी गरेको प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ। अधिकांश विमानस्थल आफ्नो सञ्चालन खर्च धान्न संघर्षरत छन्। उदाहरणका लागि हाल सञ्चालनमा नरहेको खोटाङको लामिडाँडा विमानस्थलले सन् २०२३ जम्मा ४७४.०९ रुपैयाँ मात्र कमाएको थियो।