काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा यसपटक खराव नतिजा हासिल गर्दै रहेको म्यान्चेस्टर सिटीले अहिले भने सुधारोन्मुख नतिजा हासिल गर्न थालेको छ।
साविक विजेता समेत रहेको सिटीले शनिबार राति वेस्ट ह्याम युनाइटेडमाथि जित हासिल गर्दा छैटौँ स्थानमा पुगेको छ।
सिटीले घरेलु मैदानमा शनिबार ४-१ को सहज जित हासिल गरेको हो। सिटीको जितमा एर्लिङ हालान्डले २ तथा फिल फोडेनले १ गोल गरे। अर्को आत्मघाती गोल भयो। वेस्ट ह्यामका निकलेस फोलकुर्कले १ गोल फर्काए।
वेस्ट ह्यामका भ्लादिमिर क्याफलको आत्मघाती गोलबाट सिटीले खेलमा सुरुवाती अग्रता लियो। खेलको ४२औं र ५५औं मिनेटमा गोल गर्दै हालान्डले सिटीको अग्रता ३(० मा पुर्याए। फोडेनले ५८औं मिनेटमा गोल गर्दै खेललाई ४(० को स्थितिमा लगे।
७१औं मिनेटमा फोलकुर्कले वेस्ट ह्यामका लागि गोल फर्काए । सिटी २० खेलमा ३४ अंकका साथ छैठौं स्थानमा छ। वेस्ट ह्याम समान खेलमा २३ अंकका साथ १३औं स्थानमा छ ।
शनिवार नै भएका अन्य खेलमा न्युक्यासलले टोटेनहम र एस्टन भिल्लाले लेस्टर सिटीलाई समान २-१ ले हरायो।
ब्रेन्टफोर्डले साउथह्यामटनलाई ५-० र बर्नमाउथले एभर्टनलाई १-० पराजित गर्यो । चेल्सी र क्रिस्टल प्यालेस तथा ब्राइटन र आर्सनलले समान १-१ को बराबरी खेले।