एपीएफले जित्यो १२ लाख पुरस्कार राशिको त्रिवेणी कप

हिमाल प्रेस २१ पुष २०८१ ६:५४
4
SHARES
एपीएफले जित्यो १२ लाख पुरस्कार राशिको त्रिवेणी कप

पोखरा- लमजुङमा आयोजित ३२ औं त्रिवेणी फुटबल गोल्ड कपको उपाधि विभागीय क्लब एपीएफ काठमाडौँले जितेको छ।

शनिबार सदरमुकाम बेंसीसहरको सहजीस्थित त्रिवेणी रंगशालामा भएको फाइनलमा घरेलु टिम बिवाइसी भोटेओढारलाई पेनाल्टी सुटआउटमा ४–३ गोलअन्तरले हराउँदै एपीएफले उपाधिसहित नगद १२ लाख, स्वर्ण पदक र प्रमाणपत्र जितेको हो। उपविजेताले ६ लाख, रजतपदक र प्रमाणपत्र प्राप्त गरेको छ। निकै प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयमा दुवै टिमले २–२ गोलको बराबरी खेलेका थिए।

अतिरिक्त समयमा थप गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो। जसमा एपीएफ चम्किएको हो। खेलमा बीवाईसीका इमिनियलले उत्कृष्ट खेलाडीको उपाधिसहित नगद २५ हजार प्राप्त गरे।

सर्वाधिक गोलकर्ताको उपाधि एपीएफकै प्रदीप लामाले प्राप्त गरेका छन्। उनले खेल अवधिमा ६ गोल गरेका थिए। उनले नगद २५ हजार प्राप्त गरे।

फाइनल खेलको म्याद अफ दी म्याच उपाधि एपीएफका ऐन्जल श्रेष्ठले प्राप्त गरे। सेमिफाइनलसम्म पुगेका त्रिवेणी युवा क्लब र टोखा भगवती फुटबल क्लब काठमाडौंलाई २÷२ लाख पुरस्कार प्रदान गरिएको आयोजक क्लबका अध्यक्ष राजकुमार घिमिरेले बताए।

विजयीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पुरस्कार र प्रमाणपत्र वितरण गर्दै राष्ट्रियस्तरको त्रिवेणी कपले लमजुङलाई मात्र नभई सिंगो गण्डकी प्रदेश चिनाउन टेवा पुगेको बताए।

मुख्यमन्त्री पाण्डेले खेलको माध्यमबाट गण्डकी प्रदेशलाई पर्यटकीय राजधानी बनाउनुपर्ने सरकारको धारणा रहेको बताए। गत १२ पुसदेखि सुरु भएको प्रतियोगितामा १६ टिमले भाग लिएका थिए।

यो प्रतियोगिता गण्डकी प्रदेशमै आहारारा पोखरा गोल्डकपमा प्रथमलाई दिने १२ लाख पुरस्कार समान भएको छ। आयोजिक त्रिवेणी क्लबले यसपालि पुरस्कार राशि बढाएको हो।

प्रकाशित: २१ पुष २०८१ ६:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast