इटहरी– नेकपा एमालेको साधारण सदस्यसमेत नरहनेगरी कारबाहीमा परेका नेता भीम रावल शनिबार बिहान श्री एयरलाइन्सको विमानबाट विराटनगर आइपुगे।
उनी विराटनगर आउँदा भव्य स्वागत गरियो। स्वागत गर्नेहरूमा केही राजावादी र नेकपा एकीकृत समाजवादीका नेताहरू पनि थिए।
राजावादीले उनलाई स्वागत गर्नुको एक कारण भनेको रावलले देशभक्तिपूर्ण अभिव्यक्ति हो। र, नेकपा एकीकृत समाजवादीले स्वागत गर्नु भनेको नेकपा एमालेबाट साधारण सदस्यबाट हटेपछि आफ्नो पार्टीमा आउनसक्ने सम्भावना हुनु र रावलले प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीको विरोध गर्नु।
रावललाई विराटनगर विमानस्थलमा नेकपा एसका केन्द्रीय सदस्य ओसिम आलमसहितका नेता कार्यकर्ता तथा दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, नागरिक बचाउ महाअभियान’का संस्थापक केन्द्रीय सदस्य सतिश पोखरेललगायतले स्वागत गरेका थिए।
विराटनगर विमानस्थलबाट नेता रावल सुनसरीतर्फ आए। सुनसरीको बराहक्षेत्रस्थित भरौलमा शनिबारदेखि आयोजना हुने भनिएको तेस्रो आमन्त्रित अन्तर्राष्ट्रिय भरौल भेट्रान कप फुटबल प्रतियोगिता उद्घाटन गर्न आएका रावल भने बाटोबाटै फर्किए।
सत्तारुढ दल नेकपा (एमाले) को दबाबमा कार्यक्रम रोकिएपछि नेता रावल बाटोबाटै फर्किएका हुन्।
भरौल भेट्रान क्लबले आयोजना गर्ने भनिएको फुटबलको सम्पूर्ण तयारी पूरा भएअनुरूप नेता रावल आएका थिए। उनी आयोजककै गाडीमा भरौलसम्म आइपुगे। तर, आयोजकले भने अचानक कार्यक्रम सरेको जानकारी गरायो।
आयोजक भेट्रान फुटबल क्लबका अध्यक्ष विमल कार्कीका अनुसार रावल सहभागी हुने भनिएपछि एमालेले दबाब दिएको हो। एमालेको दबावका कारण प्रतियोगिता दुई दिनपछि सार्नु परेको उनले बताए।
‘एमालेका साथीहरूले धेरै दबाब दिए। खेलकुदको उद्घाटनमा विवाद किन गर्नु भनेर हामीले पनि प्रतिक्रिया जनाएनौँ। खासमा हामीले कुनै आमसभा त गरेको होइन। नबुझेपछि के लाग्छ र?,’ उनले भने, ‘खेलकुदको उद्घाटनमा पनि राजनीतिक दबाब झेल्नुपर्ने अवस्था आयो।’
कार्की पूर्वराष्ट्रिय खेलाडी हुन्। एमालेका केन्द्रीयस्तरका नेताले रावल सहभागी हुने भनेपछि कार्यक्रम सार्न दबाब दिएको उनले बताए।
पार्टीबाट साधारण सदस्यसमेत नरहनेगरी कारबाहीमा परेपछि रावलले ‘मातृभूमि जागरण अभियान’ चलाएर एमालेविरूद्ध अभिव्यक्ति दिदैँ आएका छन्।
शनिबारको कार्यक्रममा पनि एमालेविरुद्ध अभिव्यक्ति दिनसक्ने अनुमान लगाउँदै एमालेका नेताहरूको चौतर्फी दबाबका कारण फुटबल खेल उद्घाटन दुई दिनपछि सारिएको हो।
यता, एमाले सुनसरीका सचिव राम कोइरालाले भने कुनै दबाब नदिएको बताए। ‘आजै पार्टीको खेलुकद महासंघको कार्यक्रम पनि थियो,’ उनले भने, ‘हामीले कुनै दबाब दिएका छैनौँ। साथीभाईलाई टुटफुट र विभाजनको पक्षमा कोही आउँछन् भने त्यतातिर चाहिँ तपाईंहरू नजानुहोस् भनेका थियौँ।’
खासगरी एमालेको १० औँ महाधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेपछि रावललाई पार्टीबाट अलग बनाइदैँ लगिएको छ। त्यसपछि पार्टी अध्यक्षको विचारको विपक्षमा मत राख्दै आएका रावललाई अध्यक्ष ओलीले नै एक्लाउँदै लगेका हुन्।
ओलीले नै इच्छा नगर्दा उनले गत निर्वाचनमा टिकटसमेत पाएनन्। तर, त्यसपछि पनि ओली र रावलबीचको टकरावका कारण उनलाई अघिल्लो सातामात्रै एमालेले साधारण सदस्यसमेत नरहनेगरी निष्काषन गरेको हो।
जानकारहरूले अनुसार एमालेले निषेधको राजनीति गर्दा आगामी निर्वाचनमा उक्त दललाई क्षति हुनसक्ने विश्लेषण गर्न थालेका छन्।