पोखरा – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गल्ती कमजोरी गर्नेहरुले सजायको भागिदार हुनैपर्ने बताएका छन्। निर्दोष कोही पनि फस्न नहुने र दोषी कोही पनि उम्किनु नहुने उनको भनाइ छ।
शनिबार पोखरामा नेपाली कांग्रेस गण्डकी प्रदेशले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा बोल्दै काँग्रेस महामन्त्री थापाले यस्तो बताएका हुन्।
‘सजाय त्यो व्यक्तिले पाउनुपर्छ, जसले गल्ती गरेको छ। तर सिंगो पार्टी बदनाम हुन्छ। सिंगो राजनीति बदनाम हुन्छ। सिंगो प्रणाली बदनाम हुन्छ। त्यसको भारीले हामी थिचिन थालेका छौं,’ उनले भने।
यसलाई शुद्ध बनाउने काम आफूहरु (नेपाली कांग्रेस) को भएको महामन्त्री थापाले बताए। पोखराकै सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कास्की प्रहरी हिरासतमा छन्।
आज नेपाली समाजको अगाडि नेपाली राजनीतिले परिणाम दिन नसक्नुको कारण भ्रष्टाचारमा लिप्त नेपालको राजनीतिक दलहरु भए, नेपालको राजनीतिक कर्ताहरु भए भन्ने आममानिसमा लागेको उनले बताए।
‘हामीले भन्ने गरेका काण्डहरुका ती सबै दोषीले सजाय पाउँछन्। अब उप्रान्त नेपालको राजनीति ती गल्ती कमजोरी नगरिकन अगाडि बढाउने सन्दर्भमा हामीहरु संस्थाहरु बनाउँछौं। कानूनहरु बनाउँछौं। बनाएका पनि छौं,’ उनले भने, ‘अख्तियार दूरुपयोग अनुसन्धान आयोग हामीले बनाएको हो। अदालतको स्वतन्त्रता हामीले कायम गरेको हो। यी सबै कुराको भरोसा आमनागरिकलाई दिने गरी काम गर्नुपर्नेछ,’ थापाले भने।
उनका अनुसार पछिल्लो समय नेपाली राजनीतिमा ४० भन्दा बढी भ्रष्टाचारका काण्ड घटिसकेका छन्। उनले पार्टीको जिम्मेवार तहमा बसेको मान्छेले ठगी कार्यमा संलग्न भएको पाइए उसले झन् ठूलो सजाय पाउनुपर्ने बताए।
‘एउटा कोही व्यक्ति सहकारीको ठगीमा पर्छ, अर्कोले के भन्छ भने सहकारीको ठगीमा परेको मेरो नेतालाई समाउने? हाम्रोमा मात्र छ? तेरोमा पनि छ। एउटा मान्छे मानव तस्करीमा प¥यो। अनि अर्कोले भन्छ मानव तस्करी गर्ने मेरो पार्टीमा मात्र छ? तेरो पार्टीमा पनि छ,’ उनले भने, ‘जुन कर्म, दण्डनीय छ। जुन अनएक्सपेक्टेबल छ। अस्वीकार्य छ। सामाजिक हिसाब, नैतिक हिसाबले र कानूनी हिसाबले। त्यो झन् ठूलो मान्छेले ग¥यो त्यो झन् दण्डनीय हो। जिम्मेवारीमा बसेको मान्छेले झन् गर्नै हुँदैन। त्यसले अझ बढी सजाय पाउनुपर्छ।’
कानूनले दण्डनीय भनेका क्रियाकलापमा संलग्न भए आफ्नै पार्टीका मान्छेलाई पनि सजाय हुनुपर्ने उनले प्रस्ट पारे। ‘नेपाली कांग्रेसमा भएको कारणले कसैले सहकारी ठग्छ। नेपाली कांग्रेसको भएको मानिसले कसैलाई बाहिर लगेर बेचबिखन गर्ने काम गर्छ। छुट पाउँछ? पाउँदैन। पाउनु हुँदैन,’ थापाले भने, ‘व्यक्तिले गरेको अपराधको भारी पार्टीले बोक्दैन। बोक्नु हुँदैन। आफ्नो पार्टीभित्र छ भने त्यहाँ पनि उठाऔँ। जहाँ कानून बनाउनुपर्ने ठाउँमा छ। त्यहाँ पनि उठाऔँ। जिम्मा लिने हो हामीले। निर्दोष कोही पनि फस्नु हुँदैन। दोषी कोही पनि उम्किनु हुँदैन।’
पुराना दलप्रति नयाँ दलले गरेको टिप्पणीमा उनले रोष प्रकट गर्दै भने, ‘कोही डमरु बजाउँदै आउँछ। कोही मादल बजाउँदै आउँछ। कोही घण्टी बजाउँदै आउँछ र एउटा चौतारामा बसेर भन्छ, ‘हेर हेर सब यी खराब हुन्। सब ती भ्रष्ट बसेर आज कार्यक्रम गरिरहेका छन् भन्दिन्छ।’
सामाजिक कामका लागि आफूलाई काठमाडौंमा भेट्न् महिनामा ५० औँ साथीहरु भेट्न आउने गरेको उनले बताए। ‘कसैको निजी काम हुँदैन। कोही स्कुललाई एउटा बस थपिदिनोस्, कोही अस्पतालको इक्प्युटमेन्ट भनिदिनोस्, कोही बाटो बनाइदिनोस्, कोही खानेपानी दिनुप¥यो भनी आउनुहुन्छ। यत्रा मान्छे सार्वजनिक जीवनमा लागेका छन्। तर, एकजना, दुईजना, तीनजना, बिसजना, पचास जना मानिसको जिम्मेवारी पाएको मान्छेले लोभलालच गरे, गलत क्रियाकलाप गरे, उसले सजाय पाउनुपर्छ,’ उनले भने।
पूर्वस्वास्थ्य मन्त्रीसमेत रहेका नेता थापाले निर्वाचन प्रक्रिायमा सबैभन्दा धेरै मत पाउने दलले पूरै कार्यकाल सरकार चलाउन पाउने गरी संविधान संशोधन गर्नुपर्नेमा जोड दिए पनि दिए। अस्थिर सरकारका कारण देशको विकास हुन नसकेको उनले बताए।
उनले भने, ‘स्थिर सरकार चलाउन अहिलेको निर्वाचन प्रणाली नै बाधक भएको छ। निर्वाचनमा लोकप्रिय मत पाउने दलले ५ वर्षसम्म सरकार चलाउन पाउने गरी कानुनी व्यवस्था गर्नुपर्छ।’
उनले प्रदेश सरकारमा पनि मन्त्रीहरुको संख्या घटाउनुपर्नेमा जोड दिए। संघीय सरकारमा २५ सदस्यीय मन्त्रिमण्डल व्यवस्था भन्ने नराखेको भए ५० जना मन्त्रीहरु पुग्ने उनको भनाइ थियो।
अहिले नेपालको अवस्था सम्हालिएको अवस्थामा रहेको उनको बुझाइ छ।
उनले भने, ‘पचासको दशक दुर्भाग्यको दशक भयो। साठीको दशक संक्रमणको दशक भयो। सत्तरीको दशक संविधान निर्माणको दशक भयो। असीको दशक अब समृद्धिको दशक हो। १० वर्ष नेपालले दह्रो पाइला चाल्नुपर्छ,’ उनले भने।
कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य एवं गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कांग्रेस केन्द्रीय सदस्य एवं गण्डकीका पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, केन्द्रीय सदस्य गोविन्द भट्टराई लगायतले बोलेका थिए।
प्रदेश नीति तथा योजना आयोजका पूर्वउपाध्यक्ष रघुनाथ काफ्लेले प्रजातन्त्र, पार्टी र जनप्रतिनिधिहरु तथा डा. हेमराज लामिछानेले स्थानीय सरकार कार्यसम्पादन र वित्तीय सुशासनबारे कार्यपत्र प्रस्तुत गरे।