धेरै नेपाली श्रमिकको पहिचान बोकेर आफ्ना सन्तानको भविष्य र भौतिक सुखका लागि घरपरिवार छाड्न बाध्य छन्। गाउँको कुनाबाट सहर हुँदै विदेशको बाटो समाउने प्रत्येक व्यक्ति सहज दैनिकी गुजाराको सपनामा हुन्छन् तर त्यो सपना प्राप्तिको बाटो त्यति सजिलो थिएन र छैन। लालाबालाको भोको पेट भरिदिन, भविष्यका लागि शिक्षाको उज्यालो दिन र वृद्ध आमाबाबुको सेवा गर्नका लागि ५० लाख बढी नेपालीले परदेशमा पसिना बगाइरहेको सरकारी तथ्यांकले बताउँछ।
बिरानो ठाउँमा हरदिनको फरक संघर्ष, अग्निमा परेको दाउराझैँ पोल्ने याद र मनभित्रको खालीपन- यिनै त हुन् परदेशीको वास्तविकता। विदेशको भूमि टेक्दा लाग्छ, सबै कुरा नयाँ होस्, भविष्य राम्रो होस् तर जीवनचक्र त्यति सहज र सरल हुँदैन। भाषा, संस्कृति, मौसम र आफ्नोपनको अभावले मनभित्र एक किसिमको भिन्नता र खिन्नता रहन्छ। आफ्नो देशमा गरेको हरेक काम र परिवारमा जस्तै दुःख भए पनि खुसी सम्झेर आँसु पोख्नुपर्ने दिन पनि आउँछ।
आमाबाबाले दिएको मायाको अभाव र सन्तानसँग छुट्टिएको पलहरूले अझ मन भारी बनाउँछ। घरपरिवारको खुसीका लागि आफ्ना चाहना थाती राखेर उनीहरू दिनरात श्रम गर्छन्। साना छोराछोरीले आमालाई ‘बाबा कहिले आउनुहुन्छ?’ भनेर सोधिरहेका हुन्छन्। तिनै बालबालिकाले बाबालाई आमा कहिले आउनुहुन्छ भनेर सोधिरहेका हुन्छन्। फरकफरक परिवेश फरकफरक कारण। कसैका आमा त कसैका बाबा बाहिरिएका हुन्छन्। कसैका दिदीबहिनी र कसैका दाजुभाइ श्रम गर्नकै लागि घर छाड्न बाध्य छन्। त्यस्तै प्रश्न आमाले मेरो छोरो वा छोरी कहिले आउलान् भनेर पनि सोध्छिन्। बाबा पनि पक्कै मनमनै भए पनि सोधिरहेका हुनुहुन्छ। भनिन्छ, पिताले आफ्ना भावना प्रायः व्यक्त गर्दैनन्।
परदेशमा कामका लागि जानेको सबैको पीडा हो यो। यस्तो बेला आफन्तले ‘कहिले आउनुहुन्छ?’ भनेर प्रश्न गर्दा मनमा गहिरो चोट पुर्याउँछ। विद्यालयका विभिन्न कार्यक्रममा ‘मेरा बाबा/आमा परदेशमा हुनुहुन्छ’ भन्ने वाक्यले मात्रै ती साना बालकको पीडा व्यक्त भइरहेको हुन्छ। तिनै बालबालिकाको भविष्यलाई नियालेर आमाबाबा बिदेसिएका हुन्छन्। उनीहरूकै भविष्य निर्माणमा धेरै पटक आफू अन्धकारमा बाँचेका हुन्छन् बाहिर बस्नेहरू।
अन्धकारमा रहेर गरिएको कठिन परिश्रमले कहिलेकाहीँ मिठो फल पनि दिन्छ। घरमा नयाँ छानो हाल्दा, छोराछोरीले राम्रो शिक्षा पाउँदा, आमाबुबाले गर्वले छोराछोरीको कुरा गर्दा त्यो श्रमको मूल्य महसुस हुन्छ। त्यसका लागि तिर्नुपरेको मूल्य- टाढाको पीडा, भावनाको दबाब र सम्बन्धको दूरी- कुनै हिसाबले क्षतिपूर्ति गर्न सकिन्न।
परदेशी हुनु सजिलो काम होइन, तर देशका लाखौँ नागरिकले यही बाटो रोजेका छन्। यो केवल व्यक्तिगत कथा होइन, यो एउटा पुस्ताको संघर्ष हो।
म गाउँको सामान्य परिवारकी छोरी। बाल्यकाल राम्रैसँग बित्यो। मनले खाएको व्यक्तिलाई रोजेँ र घरजमपछि दुई सन्तान जन्मिए। बाबा भारतको गोरखा सेनामा भएकाले उतै जन्मिएकी थिएँ। मलाई लाग्थ्यो नेपालमा मेरो जीवन सजिलै चल्नेछ। तर सोचेजस्तो भएन। गरिबी, अभाव र छोराछोरीको भविष्यप्रतिको चिन्ताले मलाई सोच्न बाध्य बनायो- ‘के म यस्तै परिस्थितिमा आफ्ना छोराछोरीलाई हुर्काउन सक्छु?’ अनि यसरी हुर्काउँदा छोराछोरीलाई पढाउन सक्दिनँ भन्ने लाग्यो।
त्यसपछि मैले विदेश गएर दुःख गर्ने निर्णय गरेँ। त्यस्तो निर्णय गर्दा मेरो मन असह्य पीडाले भरिएको थियो। छोराछोरीलाई छोडेर कसरी जाने? उनीहरूको भविष्य झन् बिग्रने पो हो कि भन्ने डरले भरिएको थियो। उनीहरूकै उज्यालो भविष्यका लागि आँसु पिएर, सपनालाई तिलाञ्जलि दिएर कठिन बाटो रोजेँ। खाडी नजाने नै थिएँ। अनि माइती र घर परिवारले जान दिने पनि थिएनन्। तर यहाँ अनेक तौरतरिका अपनाए अन्तमा आफन्त मार्फत नै इजरायल जाने चाँजोपाँजो मिल्यो।
खाडी मुलुकभन्दा अलिक पारिश्रमिक बढी हुने र महिलाका लागि सुरक्षित पनि भएकाले इजरायल जाने सोच बनाएकी थिएँ मैले। त्यही जुर्यो पनि। त्यहाँको कानुनले बाहिरबाट आएका र त्यहाँका नागरिकलाई समान व्यवहार गर्छ भन्ने सुनेकी थिएँ। हो रहेछ। कोही आफैँ लत बिगारे मात्र नत्र बिग्रने अवस्था थिएन। म काममा लागेँ र बाहिरी संसारमा रमाएँझैँ गर्न थाले। तर भित्र पीडा थियो नै।
आखिर मैले आफ्नो माटो छाडेँ। पहिलोपटक टाढाको संसार जुजहरुको देश इजरायलमा पाइला राखेँ। भाषा बुझ्न सकिनँ। न त वातावरण आफ्नोपनले भरिएको थियो। म यहुदी मुलुकको एउटा घरमा घरेलु कामदार अर्थात् बूढाबूढी हेर्ने (केयर गिभर) का रूपमा काम गर्न पुगेकी थिएँ। मेरो दैनिकी बिहान ४ बजे सुरु हुन्थ्यो- घरको सफाइ, भान्साको काम, आमैको हेरचाह। अनि मौका मिल्नासाथ ‘पार्ट टाइम क्लिनर’ को काम गर्थेँ। किनकि बैंकमा धितो राखेको मेरो जग्गा निकाल्नु थियो। छोराछोरीको उज्ज्वल भविष्यको चिन्ता पनि।
शरीरले कहिल्यै विश्राम पाएन। धेरै दुःख सहेर र आँसु लुकाएर मुस्कुराउनु मेरो बाध्यता बन्यो। यद्यपि मनभित्र एक मात्र कुरा थियो, ‘मैले छोराछोरीको भविष्य बनाउन सक्छु। उनीहरूलाई पढाउनुपर्छ। जति खर्च गरेर पनि राम्रो पढाउन आवश्यक छ।’ बच्चाबच्चीले पनि राम्ररी पढेर मलाई साथ दिए। त्यहीअनुरूपमा अध्ययनमा खर्च गरेँ। सम्पत्ति जोड्न भन्दा पनि पुरानो जग्गा बैंकबाट फिर्ता गर्ने र बच्चाको फी तिरेर उनीहरूलाई त्यहीँ मुन्टो लुकाउने प्रयासमा जुटेँ।
बिहानै उठेर विदेशीलाई स्याहारसुसार गर्नुपर्ने! आफ्नो बच्चालाई समेत त्यसरी स्याहार गर्न पाइएको हुँदैन। चिकित्सकले उपलब्ध गराएको रुटिनमा खुवाउनुपर्ने। बोल्न नसक्ने भएकाले आँखाका भाव बुझेर खुवाई पियाई गरिदिनुपर्थ्यो। त्यो कठोर काम गर्ने अनि थकान लिएर भुसुक्क निदाउने फेरि बिहान त्यही कार्य। कतिपय समय त आफ्नो शरीरले राम्रोसँग आराम पनि पाउँदैन थियो। अनि बिहान उठेर दिनचर्याको आरम्भ भइहाल्थ्यो।
यसरी बिना बिदा दैनिकी चलिरहेको थियो। आफ्ना सन्तानले आमाबाबा भनिरहेको र आफ्नै अगाडि झुम्मिएको हेर्ने र महसुस गर्ने शरीर अब कानमा मात्र सीमित भएको थियो। फोनमा कुराकानी गर्न अहिले जस्तो सहज थिएन। नेपालीसँग प्रायः भेट हुँदैन थियो। धेरै नेपाली पनि थिएनौँ। हामी काममै व्यस्त रहन्थ्यौँ। हाम्रो ध्यान बाबुनानीलाई पढाउन पुग्ने रकम जम्मा र काठमाडौँमा बासको जोहो कसरी गर्नेमात्र हुन्थ्यो।
विदेशमा हुँदा हरेक दिन छोराछोरीको यादले मेरो मन पोल्थ्यो। ‘आमा, कहिले घर आउनुहुन्छ?’ भन्ने उनीहरूको बालसुलभ प्रश्नले मन भक्कानिन्थ्यो। मैले उनीहरूलाई फोनमा सुनाइरहेँ अर्थात् ढाँटिरहे- ‘छिट्टै आउँछु।’ साँचो कुरा के थियो भने म चाँडै घर फर्कन सक्ने अवस्थामा थिइनँ। ‘छिट्टै’ भनेको लामो समयको प्रतीक्षा थियो। झट्ट हेर्दा र सुन्दा कति सहज लाग्ने! तर आफ्ना बच्चाको स्वर टेलिफोन बुथमा सुनेर सुँक्कसुँक्क हुँदै फर्कने गर्थेँ।
मैले उनीहरूको बाल्यकालबाट आफ्नो ममता चोरेँ। उनीहरूका हरेक खुसी र दुःखका पलमा म टाढा थिएँ। सन्तानका पाइलापाइला र विशेष गरी स्कुलका सफलता हेर्ने मेरो चाहना अधुरो रह्यो। टाढैबाट खुुसी हुने प्रयास गरेँ। फी तिर्न र खानलाउन उनीहरूलाई समस्या भएन। उनीहरू ठूला हुँदै गए। बीचमा घर आउने काम पनि भयो। अनि वास्तविकता सम्झाउन सकेँ। उनीहरूले पनि मेरो बाध्यता बुझे।
संघर्षको तितो १३ वर्षभित्रको परिश्रमपछि छोराछोरीलाई राम्रो कलेजमा भर्ना गर्न सकेँ। एउटा सानो घर बनाउन सकेँ, जहाँ उनीहरू रमाउन थाले। मैले आफ्ना सपना त्यागेँ तर उनीहरूको भविष्य सुरक्षित गर्न उनीहरूलाई उच्चशिक्षाका लागि विदेश पठाएँ। उनीहरू सफल भएको देख्दा मैले आफ्नो संघर्ष सफल भएको महसुस गरेकी छु।
पीडा, डेढ डलरको कल र आमाको मन
परदेशले मलाई धेरै कुरा सिकायो। जिन्दगीमा चुनौती आए पनि। दृढता र मेहनतले ती पार गर्न सकिन्छ भन्ने हिम्मतचाहिँ हारिनँ। यात्रा सजिलो थिएन। मैले आत्मसम्मान र धैर्यको पाठ पाइनँ भने मेरो जीवन अधुरो हुन्थ्यो। त्यो पाएँ सिकेँ, कोही नेपाली इजरायल आएर नेपालका विषयमा दुई शब्द राखिदिँदा पनि नेपाली माटोको अनुभव हुन्थ्यो। विदेशको संघर्ष सम्झिँदा आज पनि आँसु रोक्न सक्दिनँ म ।
मजस्ता लाखौँ नेपाली आमाको कथा एउटै छ। हामी आफ्नो खुसी साटेर परिवारका लागि बाँच्छौँ। हाम्रो चाहना हो- भविष्यमा हरेक आमाले आफ्नै माटोमा बसेर सन्तानको उज्यालो भविष्य बनाउन सकून्। सरकारले त्यस्तो वातावरण बनाओस्। त्यसमा लागि मुलुकमा पर्याप्त उद्योगधन्दा खुल्नुपर्छ।
परदेशको जीवन भनेको सपनाको खोजी मात्र होइन, संघर्ष, त्याग र आत्मसंयमको लामो यात्रा पनि हो। आज जस्तो सजिलो इन्टरनेट र सामाजिक सञ्जाल नहुँदा बिदेसिएका हामीहरूको एउटै सहारा थियो- फोनको कल। तर त्यो फोन गर्न पनि सहज थिएन। फोन गर्नुअघि सोच्नुपर्ने थियो। बुथबाट नेपाल फोन गर्न कार्ड किन्नुपर्थ्यो। डेढ डलरको कार्डले जम्मा छ मिनेट कुरा गर्न पाइन्थ्यो।
सातामा एक पटक मात्र फोन गरिन्थ्यो। छ मिनेटभित्र जीवनका सम्पूर्ण भावना भन्नुपर्थ्यो। सबैसँग गफ गरिसकेको हुनुपर्थ्यो। त्यसैले हरेक पटक फोन गर्दा सबैभन्दा महत्त्वपूर्ण कुरा मात्र भन्न सिकेँ, ‘सबै ठिक छ, म छिट्टै घर फर्किन्छु।’ साँचो कुरा के थियो भने सबै कुरा ठिक थिएन। थकानले लथालिंग शरीर, एक्लोपनले भरिएको अनि परिवारप्रतिको सम्झनाले जलेको मेरो मन कहिल्यै ठिक थिएन। उनीहरूलाई भन्दा सधैँ ठिक छु भन्थेँ। कैयौँ पटक आफैँ बिरामी परेँ। बच्चाबच्चीको भविष्य सम्झिएर दुःख गरिरहेँ।
छ मिनेटको फोन कलमा आफ्ना समस्या र थकानका कुरा गर्ने समय कहिल्यै आएन। म जान्दथेँ, छोराछोरीलाई चिन्तित पार्न मेरो दुःख सुनाउन आवश्यक थिएन। फोन राखेपछि मनमा एक प्रकारको रिक्तता आउँथ्यो। आफैँले आफैँलाई सम्झाउँथेँ, ‘यो मेरो जिम्मेवारी हो। तिनीहरूको खुसीका लागि म संघर्ष गर्न तयार छु।’ मेरो चाहना थियो- उनीहरूले राम्रो पढे भने मुलुक वा मुलुकबाहिर जहाँ गए पनि आफूलाई अब्बल व्यक्तिका रूपमा परिणत गर्न सकून्। मेरो जस्तो केयर गिभर होइन ह्वाइटकलर जब गरून्। त्यो लक्ष्य पूरा गर्न म कहिल्यै पछि परिनँ। त्यसमा लागिरहेँ।
‘आमा, हामी ठिक छौँ। तपाईँ कहिले फर्किनुहुन्छ?’ भन्ने छोराछोरीको आवाज सुन्दा, थकान हराउँथ्यो। तर मन यसै यसै भक्कानिन्थ्यो। किनकि त्यो अबोधको बोली अनि मेरो झुटो बोली, ‘अब छिट्टै।’ उनीहरूको बोली र फर्केपछि फेरि के गर्ने भन्ने सोच भइरहन्थ्यो। त्यही कारण म फर्किन भन्दा पनि काममा बढी केन्द्रित भएँ। केटी मानिस लामो समय विदेश बसेपछि सहनुपर्ने अन्य कुरा कति कति!
२०१० पछि त बिस्तारै फोन पनि सहज भए र बालबच्चा नि ठूला हुँदै गए। प्रविधिले हामीलाई सजिलो बनाइदिएको छ। छोराछोरीलाई दिनहुँ कल गर्न, भिडियो कलमा हेर्न र सन्देश पठाउन सकिन्छ। त्यो समयको कठिनाइ र संघर्ष सम्झँदा मेरो आँखा रसाउँछन्। अहिले त खाना पकाउँदै अनुहार हेर्दै गफ गर्न सकिन्छ।
सानामा रुवाउँदै पहिलोपटक प्लेन चढेको स्मरण गरिरहँदा अहिले जब छोराछोरीले ‘आमा, तपाईंले हामीलाई गर्व गर्नलायक बनाउनुभयो’ भन्छन्। त्यति बेला मेरो हरेक आँसुको मूल्य बुझ्छु। टेलिफोन गर्दाको पीडा र त्यो बेलामा उनीहरुको मधुरो स्वर सुन्दा हुने ग्लानि अहिले उनीहरूले प्राप्त गरेको सफलताबाट दंग हुन्छु र विगतको पीडा भुल्छु। शून्यबाट सुरु गरे पनि संघर्षले जिन्दगीको अर्थ दिँदो रहेछ। अहिले म उनीहरूको साथमा कहिले अस्ट्रेलिया त कहिले अमेरिका पुगेकी हुनेछु।
निष्कर्ष
आमाको ममता कुनै सीमा, दूरी वा खर्चले रोक्न सक्दैन। म जस्ता कैयौँ आमा कहाँ इजरायलमा मात्र छन् र? अन्य खाडी मुलुकहरू, यूरोप र अमेरिकामा पनि छन्। उनीहरूको अवस्था सम्झँदा हामी आफूचाहिँ भाग्यमानी सम्झन्थ्यौँ। किनभने इजरायलमा कुनै महिलामाथि दुर्व्यवहार हुने सम्भवना थिएन।
खाडीको समाचार हेरेपछि म कैयौँ पटक भक्कानिएकी छु। सबै आमाहरू मैजस्ता आफ्ना लालाबालालाई हुर्काउन त विदेश आएका हुन्। मेरो सपना भनेको मात्र सन्तानको उज्ज्वल भविष्य हो। जुन आज पूरा भएको देख्दा, त्यो हरेक फोनको संघर्ष सार्थक लाग्छ। प्रविधिको विकास किन ढिला भएको होला भन्ने पनि लाग्छ। छिटो भएको भए मलाई बच्चाबाट त्यति टाढा भएको महसुस हुने थिएन नि!
अहिले पनि कैयौँ आमाबाबा आफ्ना छोराछोरीका लागि भनेर विदेश गएका छन्। सरकारले त्यो बाध्यता बझेर मुलुकमा गच्छेअनुसारको काम दिए मानिस किन बाहिरिन्थे र? जुन दिन देशमा सबैलाई कामको अवसर र सुखद वातावरण हुन्छ, त्यो दिन कसैलाई पनि आफ्ना सन्तान र माटो छाडेर बिदेसिनुपर्ने बाध्यता रहँदैन। त्यसका लागि मुलुकको राजनीतिक मुहान सफा हुन आवश्यक छ। धमिलो मुहानमा सबैले माछा मार्न खोजिरहेका छन्। प्रमुख र पुराना दुई दल सरकारमा छन् तर पनि वैदेशिक रोजगार जाने प्रवृत्ति हटाएर स्वरोजगार बनौँ, मुलुकमा केही गरौँ भन्ने नारा अघि सार्न आँट गरेका छैनन्। यो निकै चिन्ताको विषय हो।