पोखरा- पोखराको सहकारी ठगीसहित संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेतका मुद्दाका प्रतिवादीमध्ये छविलाल जोशी र लीला पछाईंको तर्फबाट कानुन व्यवसायीले अभियोगपत्र दर्ता गर्दा प्रमाण पुष्टि हुने कागजात नै नभएको जिकिर गरेका छन्।
शुक्रबार कास्की जिल्ला अदालतमा प्रतिवादीका तर्फबाट सुरु भएको थुनछेक बहसका क्रममा उनीहरुले सो जिकिर गरेका हुन्। त्यसअघि मंगलबार र बुधबार सरकारी वकिलहरूको तर्फबाट बहस भएकामा बिहीबार जाहेरवालाको तर्फबाट कानुन व्यवसायीले बहस गरेका थिए।
छविलालका तर्फबाट बहस गर्ने क्रममा अधिवक्ताहरुले पूरक अभियोगमा हदम्याद हुनुपर्ने जिकिर गरेका थिए। उनीहरुले २०८० असोज १८ मा मूल अभियोगपत्र दायर भएकोमा अहिले बल्ल पूरक अभियोगपत्र दायर भएको छ तर हदम्याद किन राखिएन ? भनी प्रश्न गरेका थिए।
छविलाल जोशीका तर्फबाट अधिवक्ता जगन्नाथ ढकालले भने, ‘उहाँले पैसा लिएको देखिएको छैन। सेयर हालेको कुरा आएको छ। तर सेयर हाल्दा पैसा पनि दिइएको छैन, छोडेपछि पैसा पनि लिइएको छैन।’
उनले अगाडि भने, ‘नेचर हर्ब्समा २७ दिनमा छोड्नुभएको छ। गोर्खा मिडिया पनि ५ महिना नपुग्दै छोड्नुभएको छ। सबै हेर्दा प्रमाणको खिलापमा अभियोग दर्ता भएको छ।’
यसै गरी जोशीको पक्षबाट बहस गर्दै अर्का अधिवक्ता अपूर्व खतिवडाले छविलालको सहकारीसँग कुनै पनि साइनो सम्बन्ध नभएको दाबी गरे। उनले भने, ‘उहाँ (छविलाल) सहकारीको सञ्चालक तथा सेयर सदस्य नै हुनुहुन्छ। सहकारीबाट कुनै ऋण लिनुभएको छैन, जुन रकम गोर्खा मिडिया र नेचर हर्ब्समा गएको छ, गोर्खा मिडिया र नेचर हर्ब्सलाई अभियोगमा प्रतिवादी बनाइएको छैन।’
लीला पछाईको तर्फबाट बहस गरेका अधिवक्ता डा. गणेशबहादुर भट्टराई पछाई जीबी राईको सहयोगीमात्र भएको र कुनै पनि गल्ती नगरेको जिकिर गरे। उनले भने, ‘सहकारीको सदस्य होइन। सञ्चालक पनि छैन। माग फारम भरेर कर्जा लिएको होइन। जीबी राईको सहयोगीको रुपमा काम गर्दै आउनुभएको मात्र हो। बोस (मालिक) ले जम्मा गरिदिएको पैसाको स्रोत खोज्ने कुरा पनि भएन।’
शनिबार सार्वजनिक बिदा परेकाले अब आइतबार मात्र पुनः बहस हुनेछ। वरिष्ठ अधिवक्ता शम्भु थापा र कृष्ण खरेलले आइतबार छविलालकै तर्फबाट बहस गर्ने स्रेस्तेदार राजन खनालले बताए। छविको तर्फबाट बहस सकिएपछि मात्र पूर्व गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेको तर्फबाट उनका वकिलले बहस थाल्नेछन्।
सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा पूर्व गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेसमेत ६३ जनालाई प्रतिवादी बनाइएको मुद्दा जिल्ला अदालतमा दायर भएको छ। ती प्रतिवादीहरुविरुद्ध कुल १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ रुपैयाँ ३ पैसा बिगो माग दाबी गर्दै जिल्ला सरकारी वकिल कार्यालयले थप संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेतका मुद्दामा अभियोगपत्र दायर गरेको थियो।
प्रतिवादीहरुमध्ये हाल हिरासत रहेका लामिछानेसहित गोर्खा मिडियाका पूर्व सञ्चालक पूर्व डीआईजी छविलाल जोशी, जीबी राईकी साझेदार लीला पछाईं, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, पूर्व सांसद एवं सहकारीकी पूर्व उपाध्यक्ष मीना गुरुङ, पूर्व कोषाध्यक्ष आरती गुरुङ र पूर्व सञ्चालक कृष्णबहादुर गुरुङको सम्बन्धमा थुनछेक बहस भएको हो।