काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले हवाई, संस्कृति र पर्यटन नीति बनाउने कार्यलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन्।
प्रतिनिधिसभा मातहतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आज (शुक्रबार) को बैठकमा उनले विभिन्न धर्मावलम्बीको आस्थासँग जोडिएका मठ, मन्दिर, गुम्बा, चैत्य र चर्च निर्माणमा केकति सहयोग गर्ने भन्नेबारे तीन तहका सरकारबीच समन्वय र मापदण्ड तर्जुमाको खाँचो औँल्याए।
बैठकमा नेपाल पर्यटन बोर्डको कार्यसम्पादन, विद्यमान समस्या र समाधानका उपायबारे छलफल भएको थियो। बोर्डले आफूलाई गतिशील तुल्याउने र प्रतिफलको मूल्याङ्कन गर्ने प्रणाली विकास गर्नुपर्ने आवश्यकतामा जोड दिँदै तीन तहका सरकारको सहयोग र समन्वयमा आफ्नो कार्य जिम्मेवारीको प्राथमिकतासम्बन्धी प्राथमिकीकरण गर्न मन्त्री पाण्डेले सुझाव दिए।