काठमाडौँ- चन्द्रमान मुनिकारको निर्देशनमा नाटक ‘महासत्व’ मञ्चन हुँदैछ। टेकुस्थित कौशी थिएटरमा नाटक पुस २५ देखि मञ्चन सुरु हुने निर्देशक मुनिकारले बताए।
निर्माण टिमले फेसबुकमार्फत नाटकको पोस्टर पनि सार्वजनिक गरेका छन्। निर्देशककाअनुसार नाटक पौराणिक कथामा आधारित बुद्धत्व प्राप्तिसँग सम्बन्धित छ। नाटकमा महासत्वले सत्वप्राणीको उद्धार गर्न महादान गरेको घटनाक्रमलाई प्रस्तुत गरिएको उनले बताए। नाटकले आम मानिसलाई लोभ र मोहको भाव त्याग्नुपर्ने सन्देश दिने उनको विश्वास छ।
निर्देशक मुनिकारकै कथा लेखन रहेको नाटकको नाट्य रुपान्तरण इँगीहोपो काेँइच सुनुवारले गरेका हुन्। माघ ५ सम्म मञ्चन हुने नाटक साताकाे प्रत्येक दिन साँझ ५ः १५ बजे मञ्चन हुनेछ। शनिबार दिउँसो १ बजेको अतिरिक्त सो पनि हुनेछ।
नाटकमा कलाकार सुदन मान मुनिकार, संगीता थापा, युवाहाङ राई, स्मृति श्रेष्ठ, विशाल पुलामी, खुसी सुनुवार, सचिन लामा, सुमित्रा पेहिम, किरण चापागाईं, पुनम लक्ष्मी मगर र प्रेमचन्द पाण्डेको अभिनय छ। नाटक बज्र कला कुञ्जको प्रस्तुति र ममा आर्ट्सको सहकार्यमा बनेको हो।