काठमाडौँ– दक्षिण कोरियाको प्रहरीले निलम्बित राष्ट्रपति युन सुक योललाई पक्राउ गर्ने प्रयास रद्द गरेको छ। बीबीसीका अनुसार निलम्बित राष्ट्रपति युन सुक योललाई पक्राउ गर्न गरिएको प्रयास छ घण्टा लामो गतिरोधपछि रद्द गरिएको हो।
युनमाथि शक्तिको दुरुपयोग र डिसेम्बर सुरुमा सैनिक शासन लागू गर्ने प्रयास गर्दा विद्रोह उक्साएको आरोपमा अनुसन्धान भइरहेको छ। उनको यस्तो कदमले दक्षिण कोरियामा राजनीतिक संकट निम्त्याएको थियो। सोही कारण युनमाथि विपक्षी दलले महाभियोग लगाएर निलम्बित गरिएको छ। सैनिक शासन लागू गर्ने कानुन पनि फिर्ता भइसकेको छ।
केही दिनअघि सिओलको एक अदालतले अनुसन्धानका लागि उपस्थित हुन तीन पटक पत्राचार गर्दा पनि बेवास्ता गरेपछि युन पक्राउका लागि पुर्जी जारी गरिएको थियो। सोही पुर्जीका आधारमा उनलाई पक्राउ गर्न शुक्रबार बिहानैदेखि मध्य सिओलस्थित युनको निवासबाहिरको सडकमा पङ्क्तिबद्ध भएका थिए। सुरुमा २० सदस्यीय टोलीबाट सुरु भएको अपरेसन १५० जनामा परिणत भयो।
टोलीको करिब आधा हिस्सा युनको निवासभित्र प्रवेश गर्न सफल भए पनि उनीहरूलाई घण्टौँसम्म सुरक्षा अधिकारीहरूसँग गतिरोधमा फस्नुपरेको समाचारमा उल्लेख छ। युन सत्ताच्युत भइसके पनि सुरक्षा अधिकारीहरू उनको सुरक्षाको जिम्मेवारीमा छन्। सैनिक र सुरक्षा सेवाका अधिकारीहरूले मानव पर्खाल बनाएर र सवारीसाधन प्रयोग गरी पक्राउ गर्न पुगेको टोलीलाई अघि बढ्न दिएका थिएनन्।
‘हामी निष्कर्षमा पुगिसकेका छौँ कि पक्राउ व्यावहारिक रूपमा असम्भव छ’, युनको छोटो समयको सैनिक शासन घोषणाको अनुसन्धान गरिरहेको भ्रष्टाचार अनुसन्धान कार्यालय (सीआईओ) का एक अधिकारीले एएफपीसँग भनेका छन्।
पक्राउ नगरेपछि युनका समर्थकहरूले ‘हामीले जित्यौँ! भनेर नाराबाजी गरेका थिए। युनको निवास स्थलमा रहेका टोलीको सुरक्षाको चिन्ताका कारण पनि पक्राउ प्रयास रद्द गरिएको अधिकारीहरूले बताएका छन्। प्रहरीले युनको सुरक्षा सेवाका प्रमुख र उनका उपप्रमुखविरुद्ध फौजदारी मुद्दा दर्ता गरिसकेको छ। उनीहरूलाई सोधपुछका लागि बोलाएको छ। युनका कानुन व्यवसायी युन गाब-कुनले उनलाई पक्राउ गर्ने अधिकार नभएको तर्क गर्दै पक्राउ पुर्जीका विरुद्ध कानुनी कदम चाल्ने बताएका थिए।